– विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, ३ जेठ । राप्ती नदीमा गत साउन २९ गते आएको भीषण बाढीले दुई बिघा जमिनमा रोपेको धान खेतलाई बगरमा परिणत गरेपछि फत्तेपुर गाविस–७, भेलुन्याकी बिमला शाही राहत र सहयोगका लागि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय धाइन् ।
बाढी अघि आफ्नो लागि कहिल्यै केही नमागेकी उनी बाढीले पूरै सम्पत्ति सखाप पारेपछि लाज पचाएर राहत र सरकारी अनुदानका लागि गाविस, रेड्क्रस, बाढी प्रभावित राहत संकलक लगायत राहत वितरण गर्ने संघसंस्थासँग आफ्ना बेदना पोखिन । तर, उनको बेदना कसैले सुनेन ।
गाविस कार्यालयमा आफ्ना बेदना सुनाउने क्रममा गाविसका मुखियाले भनेको शब्द उनको मानसपटलमा अझैँ ताजै छ । ‘राहतका लागि गाविस कार्यालयमा गएको बेला मुखियाले तपाई अझैँ बाढीको नाममा राहत माग्न छोड्नु भएन है,’ गाविसका मुखियाले भनेको कुरा सुनाउँदै उनले भनिन्, ‘बाढीले श्रीसम्पत्ति खोसेको बेला सरकारी कर्मचारीले मलहम लगाउनुको साटो पीडा दिए ।’
उनको दुई विघा जनिलाई राप्ती नदीले बगर बनाएपछि उनले हिउँदे बाली समेत लगाउन पाइनन् । राप्ती नदीले सम्पूर्ण खेती योग्य जमिन बगरमा परिणत गरेपछि उनका श्रीमान बैदेशिक रोजगारका लागि मलेसियामा छन् । उनले भनिन्, ‘भएभरको खेतबारी नदीले बगाएपछि खान, लाउन र छोराछोरीलाई पढाउन समस्या भएकोले श्रीमानलाई विदेशिनु पर्यो ।’
छिमेकीले घर भत्केको, बगाएको र आंशिक क्षति पुगेको भन्दै राहत र अनुदानका लागि नाम दर्ता गराए । तर बिमलाको कुरा कसैले पनि सुनेन । क्षतिको बिवरण लिन गएकाहरु पनि खेतबारी बगाएकाहरुलाई बेवास्ता गरी घरमा क्षति पुगेकाहरुको नाम मात्र लेखेर लगेको उनले सुनाइन् । ‘अहिले घरमा क्षति पुगेकाहरुको नाममात्र लेख्ने हो पछि खेत बगेकाहरुको नाम लेखौँला भन्दै नाम लेख्न मानेनन्,’ उनले मलिन अनुहार लगाउँदै भनिन् ।
राप्ती नदीमा आएको बाढीले क्षति पुर्याउनु अघि उनले आफ्नो खेत अधिया लगाउन दिन्थिन् । तै पनि वर्षदिन खाएर धान र गहुँ विक्री गर्थिन् । उनले भनिन्, ‘वर्षदिन खाएर ६ क्वीन्टल धान र ४ क्वीन्टल गहुँ विक्री गरिन्थ्यो । अहिले खानका लागि समस्या छ ।’
दैनिक खर्चको जोहो गर्न तीन महिनामा तीनवटा बाख्रा विक्री गरेको उनले बताइन् । ‘घर खर्च चलाउन हम्मेहम्मे परेपछि बाख्रा विक्री गरेर गर्जो टारे । अब त बाख्रा पनि सकिए कसरी घर खर्च धान्ने हो,’ बिमलाले भनिन् ।
घरमा क्षति नभएका कारण छिमेकीले राहत र अनुदान पाउने बेला बिमलाले भने केही पाइनन् । जमिन बगाएकालाई पनि राज्यले अनुदान रकम दिनु पर्ने बताउँदै उनले कसैलाई काखा र कसैलाई पाखा नगर्न माग गरिन् । ‘घर भत्केकाहरु भन्दा जमिन बगेकोहरुको समस्या धेरै हुन सक्छ । त्यसैले घरमा क्षति पुगेको र जमिन बगाएकोमा विभेद गर्न हुँदैन,’ बिमलाले भनिन् ।
केयर नेपाल, हेण्डीक्याप इन्टरनेशनल, अक्सफाम र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा सामुदायिक प्रकोप ब्यवस्थापन राष्ट्रिय समिति सञ्जाल बाँकेले नेपालगन्जमा आयोजना गरेको ‘बाढी प्रभावित समुदायको सवालहरु र राजनीतिक दलहरुको भूमिका तथा दायित्व’ विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रममा उनले छोराछोरी पढाउन, घर खर्च र श्रीमानलाई बिदेश पठाउनका लागि ३ लाख ऋण लिएको उनले खुलासा गरिन् ।
फत्तेपुर गाविस–७, सर्राकी टिका जिसीको भान्सा घर भत्केको छ भने खेति योग्य जमिन राप्ती नदीले बगाएको छ । तर, बिमला शाही जस्तै टिकाले पनि राज्यबाट अनुदान रकम र राहत पाएकी छैनन् । बाढी पीडतलाई राहत बितरण गर्ने क्रममा काखापाखा नगर्न आग्रह गर्छिन् । उनले भनिन्, ‘पीडा सबैको उस्तै हो किन काखापाखा गर्नु पर्यो ।’
















प्रतिक्रिया