५ कार्तिक २०८३, बिहिबार

सभासदलाई हेलिकप्टर नचढ्न निर्देशन, पालना नगरे कारवाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter Nepal Armyकाठमाडौँ, ३ जेठ । राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित जिल्लामा अनुगमनका लागि खटिएको संसदीय टोलीलाई हेलिकप्टर नचढ्न निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले अनुगमनमा रहँदा मितव्ययी ढङ्गले काम गर्न र अनावश्यक रुपमा आर्थिक भार नपर्ने गरी जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिएको हो । भूकम्प प्रभावित क्षेत्रमा अनुगमनका लागि खटिएको टोलीबाट हेलिकप्टरको प्रयोग भएको भन्ने टीकाटिप्पणी उठेपछि समितिले सो निर्देशन दिएको हो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्वासका लागि भइरहेको प्रयासबारे सरकारसँग के–के विषयमा कस्तो जानकारी लिने त्यसको गृहकार्य गर्न र समितिको तर्फबाट सरकारलाई पु¥याइने सहयोग र राय सुझावको खाका तयार गर्न बैठकले चार जना सदस्यलाई जिम्मेवारी दिएको छ ।

उक्त जिम्मेवारी पाउनेमा नेपाली काँग्रेसका पूर्णबहादुर खड्का, नेकपा (एमाले)का अग्नि खरेल, एनेकपा (माओवादी)का गिरिराजमणि पोखरेल र सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।

विशेष समितिका अध्यक्ष एवम् सभामुख सुवास नेम्वाङले भूकम्पबाट अति प्रभावित १४ जिल्लामा १४ वटा सदस्यीय टोली खटाइएकामा सबैलाई मितव्ययी ढङ्गले र स्थानीय प्रशासनलाई अनावश्यक भार नपर्ने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो – “हेलिकप्टरको प्रयोग नगर्न भन्नुपर्छ, हेलिकप्टर चढ्ने काम ठीक होइन, टोलीलाई हेलिकप्टरको प्रयोग नगर्न सचिवालयमार्फत निर्देशन दिन चाहन्छु ।” नेकाका उपसभापति रामचन्द्र पौडेलले भूकम्पपीडितका लागि सरकारले कर्कट पाता खरिदका लागि घोषणा गरेको १५ हजार अपर्याप्त हुन सक्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा समितिका सदस्यहरु पूर्णबहादुर खड्का, अग्नि खरेल, गिरिराजमणि पोखरेल र लक्ष्मणलाल कर्णले भूकम्प प्रभावित दुर्गम गाउँबस्तीमा अझै राहत पुग्न नसकेको, अहिले अत्यन्त संवेदनशील बेला भएकाले सादा र सरल तरिकाले अनुगमन गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

उहाँहरुले भन्नुभयो – “यतिखेर सबै अनुशासनमा बाँधिनुपर्छ, सरकारभन्दा समिति समर्पित, सजग र संवेदनशील हुन जरुरी छ ।” रासस