३१ आश्विन २०८३, शनिबार

यती एयरको जहाज दुर्घटनापछि हवाई यात्रा गर्नेको संख्या घट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

चितवन, ५ माघ । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ ।

पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो ।

कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए । माघ १ मा खराब मौसमका कारण उडान हुन सकेको थिएन ।

पोखरामा विमान दुर्घटना भएपछि माघ २ मा एक सय ९९ जना, माघ ३ मा एक सय ६८ जना र माघ ४ मा एक सय ८७ जनाले यहाँबाट हवाई यात्रा गरेका छन् । भरतपुर–काठमाडौँ रुटका साथै काठमाडौँ–भरतपुर रुटमा पनि हवाई यात्रुको सङ्ख्या घटेको छ ।

कार्यालयका अनुसार पुस २८ मा तीन सय २१ जना, पुस २९ मा तीन सय १९ जना र पुस ३० गते तीन सय १३ जना यात्रु काठमाडौँबाट भरतपुर आएका थिए । यस्तै माघ २ मा एक सय ३८ जना, माघ ३ मा एक सय ८२ जना र माघ ४ मा दुई सय सात जना हवाई मार्ग हुँदै काठमाडौँबाट चितवन आएका छन् ।

अहिले भरतपुर विमानस्थलबाट दैनिक ८ देखि १० वटा उडान हुँदै आएको छ । जस अन्तर्गत गुण एयरलाइन्सले काठमाडौँ–भरतपुर–काठमाडौँ र बुध्द एयरले भरतपुर–पोखरा–भरतपुर रुटमा दैनिक एक उडान र काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा दैनिक आठ वटा उडान गर्दै आएको छ ।