१ कार्तिक २०८३, आइतबार

खरसाङमा शहीद गोल्ड कप फुटबल प्रतियोगिता सुरू, उद्घाटनमा युनाइटेड दिलाराम विजयी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खरसाङ (भारत), ३ माघ । छिमेकी मुलुक भारतको खरसाङमा १०औं शहीद गोल्ड फुटबल प्रतियोगिता सुरू भएको छ ।

दार्जिलिङको पहाडी भेकको प्रतिष्ठित खेलकुद संस्था खरसाङ गोर्खा हिल फुटबल एसोसिएशन (केजीएचएसए)ले महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण गर्न फुटबल प्रतियोगिता आयोजना गरेको हो । केजीएचएसएले सन् २०१४ देखि यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको छ ।

खरसाङको चानमारी खेल मैदानमा आजदेखि सुरू भएको यो प्रतियोगिताले दार्जिलिङको कठ्याङ्ग्रिने जाडोमा खरसाङको सामाजिक परिवेशलाइृ गरमागरम बनाउने विश्वास आयोजकको छ ।

प्रतियोगिता सुरू हुनअघि केजीएचएसएले खरसाङ शहरमा खेलाडीहरू, खेलकुद संस्था, सामाजिक संस्थाहरूलाई साथमा लिएर र्याली निकालेर समग्र शहरलाई खेलकुदमय बनाएको थियो । र्याली सुरू हुनअघि शान्ति, स्थिरता र प्रेरणाको प्रतिक निलो कपडाले ढाकिएको गोल्डकप पुराना फुटबल खेलाडी एवम् केजीएचएसएका ८६ वर्षीय अध्यक्ष मोहन लामा र संरक्षक एएसबी सुनवारले अनावरण गरे ।

श्रद्धाञ्जली अर्पणको मुद्रामा गोर्खा सौनिकको मूर्ति रहेको सो गोल्ड कप हुड खोलिएको जीपको अघि राखेर र्यालीका साथमा शहर परिक्रमा गराउँदै चानमारी खेल मैदानमा लगिएको थियो । र्यालीमा खरसाङ निवासी राष्ट्रिय स्तरका फूटबल खेलाडी नगेन तामाङ, बडीबिल्डिङका अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका युवा नेता पेमेन्द्र गुरुङलगयात धेरै खेलाडीहरूको सहभागीता थियो ।

गोर्खाल्याण्ड टेरिटोरिअल एड्मिनिस्ट्रेशन (जीटीए)को युवा अनि खेलकुद विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको प्रतियोगितामा १२ वटा फुटबल टोलीहरूले भाग लिइरहेका छन् । भारतीय फुटबल टोलीका पूर्व कप्तान भाइचुङ भोटियाको टोली सिक्किम युनाइटेडले पनि यो प्रतियोगितामा भाग लिएको छ ।

उद्घाटन खेल सिक्किम युनाइटेड र युनाइटेड दिलाराम फुटबल क्लबबीच भएको थियो । प्रतिस्पर्धामा युनाइटेड दिलाराम फुटबल क्लब विजयी बन्यो ।

प्रतियोगितमा विजेता टोलीलाई एक लाख पचास हजार रुपैयाँ अनि उपविजेता टोलीलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरिने बताइएको छ ।

३० जनवरी १९४८ मा नाथुराम गोडसेले महात्मा गान्धीको हत्या गरेका थिए । ३० जनवरीको दिनलाई देशभरमा शहीद दिवसको रुपमा मनाउने गरिएको छ ।