१ कार्तिक २०८३, आइतबार

जहाज दुर्घटना: बेपत्ताको खोजी कार्य राति पनि गरिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अजय केसीले खोजी कार्यलाई राति पनि जारी राख्नका लागि घटनास्थल सेती खोँचमा लाइट जडान गरिसकिएको बताए ।

“खोजी कार्यको सुरक्षाकर्मीका तर्फबाट कुनै कमी हुन नदिनका लागि राति पनि सम्भव भएसम्म शवहरु खोजी गर्नेछौँ”, प्रमुख केसीले भने । दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा परीक्षणका लागि लगिएको छ ।

“अब बेपत्ता चार जनाको पनि खोजीमा लागेका छौँ, राति नभेटिए सोमबार पनि खोजी कार्यलाई तीव्र पार्छौं”, उनले भने । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएका छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन् ।

प्रहरी र सशस्त्र प्रहरी पनि सयौँको सङ्ख्यामा खटिएका छन् । काठमाडौँबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पोखरा आएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले राति पनि बत्ती जडान गरी खोजी गर्न लागिएको जानकारी दिए।

उनका अनुसार जहाजमा रहेका चारजना अझै बेपत्ता छन् । अहिलेसम्म ६८ जनाको शव फेला परेको छ । उनीहरुको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ ।

“सबै जनाको शव आज नै निकाल्न सकियोस् भनेर राति पनि खोजी गर्न लागिएको हो,” प्रजिअ केसीले भने। मृतकका परिवारलाई सोमबार शव बुझाउने तयारी रहेको पनि प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।