
काठमाडौं, ३० पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा जाने कुरा तत्काल सम्भव नभएको बताएका छन् ।
पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा अध्यक्ष नेपालले सरकार गठनको कुनै पनि प्रक्रियामा आफूहरु सहभागी नभएको र अहिले सरकारमा जाने कुरा पनि सम्भव नभएको बताएका हुन् ।
उनले सरकारले अघि सारेका कार्यक्रमलाई हेरेर सर्तसहित प्रधानमन्त्रीलाई विश्वासको मत दिएको धारणा राखे । परिस्थीतिमा परिवर्तन भएर आफूहरुको आवश्यकता भए सरकारमा जान सकिने तर अहिले नै त्यस्तो कुनै तयारी नभएको नेपालको भनाइ छ ।
उनले संसद बिघटन गरिन्छ कि भन्ने आशंका जन्मिएको भन्दै संविधानमा नै नभएको कुरालाई गर्ने आट कसैले गर्न नहुने आफ्नो सुझाव रहेको बताए । उनले सत्ता र पावरले मान्छेलाई घमण्डी बनाउने भएकाले बिनम्रतापूर्वक लाग्न प्रधानमन्त्रीलाई सुझाव दिए ।
अध्यक्ष नेपालले घनश्याम भुसाल पार्टीमा आएपछि उत्साहित बनेको र अरुलाई पनि आउने वातावरण तयार भएको बताए । उनले समानुपातिकमा सन्तोषजनक मत नआएपनि प्रत्यक्षतर्फ राम्रो परिणाम आएकाले निर्वाचनको परिणामका कारण हेरस खानुपर्ने अवस्था नरहेको पनि बताए ।
अध्यक्ष नेपालले पार्टीलाई सशक्त रुपमा अघि बढाउनका लागि जनतमाझ जान कार्यकर्तालाई निर्देशन दिए ।















प्रतिक्रिया