धादिङ, २ जेठ । री गाउँ विकास समिति ४ रिचोकका गाङ्जे तामाङ र उनकी बुहारी सपना सदरमुकामकै खुल्ला ठाउँमा त्रिपाल टाँगेर बसेको १६ दिन भयो।
भूकम्प आउँदा गाङ्जेको पाँचजनाको परिवार री गाविसको घरमै बसेर आलु उसिनेर खाँदै थिए।
घरमा रहेकी ६२ वर्षीया पत्नी लाकुमाया तामाङ र अढाइ वर्षकी नातिनी स्माइल तामाङको भूकम्पले घर भत्कँदा घरमा नै पुरिएको मृत्यु भयो।
पत्नी र नातिनी गुमाए पनि भूकम्पको दुई दिनपछि बुहारी सपनालाई खुट्टा भाँचिएको अवस्थामा गाङ्जेले टाउकोबाट रगत बग्दाबग्दै उद्धार गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उद्धारपछि हेलिकोप्टरमा जिल्ला सदरमुकाम धादिङबेसीमा ल्याइएका ससुराबुहारी अहिले धादिङबेसीमा रहेको खुला स्थानमा पाल टाँगेर बस्न बाध्य छन्।
घरले च्यापेर सपनाको खुट्टा भाँचिएको छ। सपना हिँडडुल गर्न सक्दिनन्। गाङ्जेका एकमात्र छोरा सुन्दरराम दुबइमा छन्।
रसिला आँखा बनाउँदै गाङ्जेले भने, ‘धादिङबेसीमा नै रहेका जेठानले दुई छाक खाना ल्याइदिन्छन्। घर जान घर छैन। त्यसमाथि बुहारीको खुट्टा प्लास्टर गरिएको छ।’
भूकम्पले घाइते भएका धादिङका महिलाहरु घर बाहिर आराम गरेर बस्दै।
अस्पतालले प्लास्टर गरिदिएपछि अस्पतालबाट घर जाउ भनेको र बेलाबेला खुट्टा देखाउन डाक्टरले बोलाएकाले सदरमुकाम छाड्न नसकेको उनले बताए।
आफ्नी पत्नी र अबोध नातिनी गुमाएका उनलाई घर जान पनि मन छैन।
गाङ्जेजस्तै भूकम्पबाट घाइते भएका उत्तरी धादिङका धेरैजना जिल्ला सदरमुकाममा नै सहाराविहीन भएर बसिरहेका छन्। सामान्य उपचारपछि अस्पतालले डिस्चार्ज गरिदिएपछि उनीहरू बिचल्लीमा परेका हुन्।
कोही स्कुलका भवनमा बसिरहेका छन् भने कोही खुल्ला चौरमा। सदरमुकाम नीलकण्ठ उच्च माविको स्रोतकेन्द्रमा गाङ्जेजस्तै १० जनाले आश्रय लिइरहेका छन्।















प्रतिक्रिया