
काठमाडौं, १४ पुस । बिहीबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ ।
बैठकले न्यूनतम साझा कार्यक्रमको खाका तयार गर्नका लागि समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली रहेका छन् ।
यस्तै, गृहमन्त्रालयले सुरक्षा निकायका पदाधिकारीहरुलाई अनुमति बिना राजनीतिक दलका नेताहरुलाई भेट्न बन्देज लगाएको छ ।
सरुवा बढुवामा राजनीतिक पहुँचको फाइदा उठाउने प्रवृत्तिलाई निस्तेज पार्ने उदेश्यले मन्त्रायले यस्तो बन्देज लगाएको अनुमान गरिएको छ । निर्देशन विपरित कार्य गरेमा अनुशासनको कारबाही गर्ने चेतावनीसमेत मन्त्रालयले दिएको छ ।
हेरौँ बिहीबार दिनभरका समाचारका मुख्य मुख्य हेडलाइनहरु-
१. गठबन्धनको निर्णय : पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने सत्ता गठबन्धनको निर्णय, कार्यक्रमको मस्यौदा तय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा समिति गठन गरेर काम थालियो ।
२. गृहको निर्देशन : विभागीय अनुमतिबिना राजनीतिक दलका नेताहरु र राजदूतलाई नभेट्न सुरक्षा निकायका पदाधिकारीलाई गृहमन्त्रालयको निर्देशन, निर्देशन अवज्ञा गरे अनुशासनको कारबाही गर्ने चेतावनी ।
३. फिर्ता हुन थाले प्रहरी : गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मी धमाधम फिर्ता हुन थाले, बिहीबार साँझसम्म नेपाल प्रहरीका १०३ जना र शसस्त्र प्रहरीका ९१ जना फिर्ता ।
४. प्रभु साहको नयाँ पार्टी : रौतहत क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले गठन गरे आम जनता पार्टी, सातै प्रदेशमा अध्यक्ष र इन्चार्ज तोकिए ।
५.प्रदेश सभा बैठक बस्दै : बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेश सभाको ११औँ अधिवेशन आह्वान, भोलि दिउँसो १ बजे बैठक बस्दै ।
६. सरकारी वकिलसम्बन्धी छुट्टै ऐन : सरकारी वकिलसम्बन्धी छुट्टै ऐन ल्याउन आफू तत्पर रहेको नवनियुक्त महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको भनाइ, कार्यसम्पादन प्रभावकारी हुने विश्वास ।
७. मुद्दा हेर्न नभ्याइनेमा : बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको पुनरावेदन रिट हेर्न नभ्याइनेमा, अर्को पेशी अनिश्चित ।
८. बालेनले रविसँग मागे सुरक्षा : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले बागमती किनारका सुकुम्बासी बस्ती हटाउन गृहमन्त्री रवि लामिछानेसँग मागे सहयोग, अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड ।
९. डीएसपी निलम्बनमा : व्यापारीको सुन नियन्त्रणमा लिएर पैसा असुल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित, केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले थप अनुसन्धान जारी राख्ने ।
१०. कर्मचारीविरुद्व भ्रष्टाचार मुद्दा : मापदण्डविपरीत मावा खोला उत्खननमा सघाउने पालिकाका कर्मचारीविरुद्ध साढे ३ करोड रुपैयाँ भन्दा बढीको भ्रष्टाचार मुद्दा दायर, आरोपितहरूमा दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरी र मिक्लाजुङ गाउँपालिकाका मोरङका सब इन्जिनीयर विवेक कार्की ।
११. वीरेन्द्र शाहको जन्मजयन्ती : दिवंगत राजा वीरेन्द्र शाहको ७८औं जन्मजयन्ती बिहीबार मनाइयो, ललितपुरको जावलाखेलमा अवस्थित वीरेन्द्रको शालिकमा माल्यार्पण ।
१२. सट्टेबाजी गर्ने पक्राउ : काठमाडौंमा जारी नेपाल टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अनलाइन वेटिङमार्फत सट्टेबाजी गर्ने दुई जना पक्राउ, पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२७ का ४२ वर्षीय रविन तुलाधरसहित चार जना ।
१३. युवक पक्राउ : सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई अश्लिलता प्रदर्शन गर्न करकापमा पार्ने एक जना युवक पक्राउ, पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिन ।
१४. सिरपले लियो बालबालिकाको ज्यान : उज्वेकिस्तानमा भारतीय औषधि कम्पनी ‘मेरियन बायोटेक’ले बनाएको सिरप खाँदा १८ जना बालबालिकाको मृत्यु, सिरपले मिगौलामा गम्भीर असर पारेको भन्दै उक्त कम्पनीको उत्पादन सेवन नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह ।
१५. प्रतियोगिताको मिति तय : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता फागुन १९ गतेदेखि सुरू हुँदै, विजेताले ७५ लाख, दोस्रोले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने ।















प्रतिक्रिया