काठमाडौं, १ जेठ । मंगलबार गएको शक्ति शाली भूकम्पमा आत्तिएर भागदौड गर्दा उपत्यकामा अधिकांश युवायुतीको हातखुट्टा भाँचिएको छ। ज्यान बचाउन भन्दै पाँच तला, बार्दली, पर्खाल, होटेलका छत र पुलबाट हामफाल्दा कतिपय युवायुवतीको मेरुदण्डसमेत भाँचिएको छ।
उपत्यकाका अधिकांश ठूला अस्पतालमा भर्ना भएका घाइते युवायुवतीले भागदौड गर्दा र हामफाल्दा हातखुट्टा र मेरुदण्ड भाँचिएको बताए।
विज्ञले भूकम्पका बेला भागदौड र हामफाल्नु सबैभन्दा घातक हुने भन्दै सचेत गराइरहे पनि पढेलेखेका युवा नै भागदौड गर्दा घाइते भएका छन्।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा भर्ना भएका कोटेश्वर महादेवस्थानका रोशन शाहीले अन्नपूर्णसँग भने, ‘तीन तलाको कोठामा एक्लै थिएँ।
भूकम्प आयो, ज्यान बचाउन हामफालें तर उठ्न सकिनँ।’ मेरुदण्ड भाँचिएपछि रोशनको बिहीबार शल्यक्रिया गर्ने तयारी भइरहेको छ। चिकित्सकले २५/३० वर्ष उमेर समूहका मानिस घाइते भएको र अधिकांशको हातखुट्टा र मेरुदण्ड भाँचिएको बताए।
‘आफू बसिरहेको घर र स्थान सुरक्षित महसुस नभएपछि त्यसरी युवाले हामफालेका छन्’, अस्पताल आकस्मिक विभागका प्रमुख डा. दिनेश लम्सालले भने,’हामफालेपछि उनीहरूलाई थाहा भयो कि त्यो काम गर्नु हुन्थेन भनेर, नोक्सान ठूलो छ।’ उक्त अस्पतालमा एक सय १७ जनाको उपचार भइरहेको छ। १४ जनाको शल्यक्रियाको तयारी गरिएको छ।
दुई साताअघि गएको महाभूकम्पका कारण घर भत्किँदा धेरैले ज्यान गुमाएका थिए। त्यसको डरले पनि अधिकांश युवाले माथिबाट हामफाल्ने र भाग्ने प्रयास गरेका थिए। ‘त्यतिबेला ज्यान बचाउनु नै ठूलो लाग्दो रहेछ’, भाँचिएको हात देखाउँदै शिक्षण अस्पतालमा उपचार गराइरहेकी मनिका श्रेष्ठले भनिन्, ‘अहिले पछुतोबाहेक केही छैन।’
उक्त अस्पतालमा मगंलबार एक सय ४५ जना घाइतेको उपचार सुरु गरिएको थियो। अधिकांश युवायुवती छन्। उनीहरूको हातखुट्टा भाँचिएका छन्।
सोही अस्पतालमा पाँच तलाबाट हामफालेका एक युवाको अचेत अवस्थामा उपचार भइरहेको छ। पाटन, मोडेल, राष्ट्रिय ट्रमा सेन्टर, नर्भिक अस्पतालमा पनि अधिकांश युवायुवती हातखुट्टा भाँचिएको अवस्थामा पुगेका थिए।
मंगलबारको भूकम्बाट ध्वस्त बनेका दोलखा, सिन्धुपालचोक, रामेछापमा भने चर्किएका घर भत्किँदा घाइते भएका छन्। तीमध्ये धेरैजसोको टाउकोमा चोट लागेको छ।
निजामती अस्पतालमा भर्ना भएकी दोलखा लाँकुरीडाँडाकी ६३ वर्षीया जगतकुमारी केसी चर्किएको घरमा पुरिँदा गम्भीर घाइते भएकी छन्।
उनका छोरा विकासले भने, ‘आमा गाईबस्तुलाई घाँस हाल्न जानुभएको रहेछ। चर्किएको घर भत्किएर पुरिनुभएछ। छिमेकीले बल्तल्ल निकाले।’ जगतकुमारीको टाउकोमा गंभिर चोट लागेको छ भने मेरुदण्डमा पनि चोट छ। उनलाई मंगलबार अबेर अस्पताल ल्याइएको थियो।
विकासका अनुसार गाउँका घाइतेको पहिरोले सडक अवरुद्ध भएपछि उद्धार हुन सकेको छैन। भूकम्पपछिको पहिरोले दोलखा र सिन्धुपाल्चोकका धेरै सडक अवरुद्ध छन्।
काठमाडौंका गएको चिकित्सक टोली सडक अवरुद्ध भएपछि अलपत्र छ। स्वास्थ्य मन्त्रालयका अनुसार उद्धारटोली सडक मार्गबाट जान नसकेपछि हेलिकोप्टरले घाइते ओसारिरहेको छ।
मन्त्रालयका प्रवक्ता डा. गुणराज लोहनीका अनुसार वीर अस्पतालबाट थप चिकित्सकको टोली दोलखा खटिएको र ६ वटा अस्पतालका मेडिकल टिमलाई तयारी अवस्थामा राखिएको छ।
सुई लगाउँदै गरेका बिरामीसमेत भागे
मंगलबारको भूकम्मका कारण उपचार गराइरहेको बिरामी भागेपछि उत्यकाका अधिकांश ठूला अस्पतालका भवन रित्तिएका छन्। भूकम्पका कारण सुई लगाउँदै गरेका, शल्यक्रिया गर्ने तयारीमा रहेका, गर्भवती, सुत्केरी सबै आत्तिएर अस्पतालको चौरमा भागेका थिए।
सुरक्षित मानिएका ठूला सरकारी अस्पतालका बिरामीसमेत आत्तिएर भागेपछि चिकित्सक र नर्सलाई उपचार गर्न समस्या भएको छ भने कर्मचारीलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ।
मंगलबार अस्पतालका बिरामी भागेर चौरमा पुगेपछि त्रिवि शिक्षण, निजामती, पाटन, भक्तपुरलगायत अस्पताललाई उपचारको व्यवस्था मिलाउन समस्या भएको थियो।
बिरामी डराएर अस्पताल भित्रै नछिरेपछि कतिपय अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ। ‘चिकित्सक, नर्स र कर्मचारी डराएर उपचार गर्न मानिरहेका छैनन्’, शिक्षण अस्पतालका एक चिकित्सकले भने, ‘प्रशासनले भवन सुरक्षित छ, भित्र बस भनेर हाम्रो आत्मविश्वास बढाउन पनि सक्दैन अनि कसरी हामी काम गर्न सक्छौं?’
भवन चर्किएपछि निजी अस्पतालको सेवा झन् प्रभावित भएको छ। घाइतेहरूले निजीले शुल्क महँगो लिने र भवन पनि असुरक्षित भएको भन्दै सरकारी अस्पताल आएको बताए।
मोडेल अस्पतालमा उपचार गराइरहेकी सानेपाकी ममता आचार्यले भनिन्, ‘घरनजिकै मेघा अस्पताल थियो तर हामीलाई त्यसको भवन देख्दै डर लाग्यो, पैसा पनि धेरै लिन्छ त्यही भएर ढिलो भए पनि यहाँ आएका हौं।’ आजको अन्नपूर्णपोष्टमा समाचार छ ।















प्रतिक्रिया