१ कार्तिक २०८३, आइतबार

पाँच दलीय गठबन्धनको बैठक आज पनि निष्कर्षबिहीन, भोलि बिहान पुन: बस्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । आज साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको छ ।

निर्वाचन सम्पन्न भएपछि आज बसेको पाँचदलीय गठबन्धनका शीर्षनेताहरूको बैठकले निर्वाचन परिणाम र आगामी दिशाबारे छलफल गरेको र थप छलफल भोलि बिहान गर्ने गरी टुङ्गिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

‘निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमबारे गम्भीररूपमा छलफल भएको छ र आगामी दिनमा कसरी जाने भन्नेबारे पनि छलफल भएको छ । जनताको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा पनि हामी सहमतिमा पुगेका छौँ,’ मन्त्री कार्कीले भने ।

आज मुख्यगरी अहिलेको राजनीतिक परिस्थीतिबारे छलफल गरिएको उनको भनाइ छ । अब बन्ने सरकारमा गठबन्धनले निरन्तरता पाउने पनि कार्कीले बताए । ‘अहिलेको सन्दर्भमा प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण विषय हो । यसमा हलो अड्किन्न । मुलुकलाई अहिलेको जनताको आकांक्षाअनुसार कसरी अगाडि बढाउने भन्ने कुरा हो । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ,’ कार्कीले भने ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए ।

नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय भोलि बेलुका ५ बबजे सकिँदैछ ।

नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।