
काठमाडौं, ९ पुस । राष्ट्रपति हुने चर्चासँगै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो दौडधुपलाई तीव्र पारेका छन् ।
विभिन्न दलका नेताहरूसँगको भेटघाट तथा छलफलका क्रममा पौडेलले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै प्रचण्डनिवास खुमलटार पुगेका पौडेललाई प्रचण्डले निराश बनाएर फर्काएका छन् । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा दाबी कायम राखिरहेको अवस्थामा पौडेल राष्ट्रपति बन्न नसक्ने प्रचण्डको ब्रिफिङ छ ।
उनले आफूलाई कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री बनाए मात्रै राष्ट्रपति कांग्रेसलाई छोड्न सकिने र त्यस्तो अवस्था सृजना भए मात्रै पौडेल राष्ट्रपति बन्ने तर्क पौडेलसमक्ष गरेका छन् ।
गठबन्धनबाट प्रधानमन्त्री बन्न नपाए एमालेसँग मिल्ने प्रष्ट धारणा पनि प्रचण्डले पौडेललाई सुनाएका छन् । प्रचण्डले प्रधानमन्त्रीको अडानबाट आफू पछि नहट्ने समेत बताएका छन् ।
प्रचण्डसँगको भेटपछि रामचन्द्र पौडेलले शनिबार नै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका छन् ।















प्रतिक्रिया