विकास, सेवा, सुबिधा, सुरक्षा र आयको हिसाबले मध्यपूर्वी एसियाको युरोपको रुपमा चर्चित यूएईमा प्राय सबै प्रमुख नेपाली राजनैतिक दलका प्रवास संगठनहरु क्रियाशील छन् । झन्डै ३ लाखको हाराहारीमा रहेका नेपाली श्रमिकहरुको अवस्था, चुनौती र अवसर तथा नेपाली संगठनहरुको भूमिका र त्यस्ता संगठनहरुले नेपाली श्रमिकहरुमाथि आइपर्ने समस्याहरुमा गर्दै आइरहेको र गर्नसक्ने सहयोगका बारेमा नेकपा (एमाले) को यूएई प्रवास संगठनका अध्यक्ष प्रकाश कोइरालासंग दैनिक नेपालले गरेको कुराकानी यसप्रकार रहेको छ ।
प्रवासी जीवनमा राजनीति र समाजसेवालाई संगसंगै अघि बढाउन कतिको सहज ठान्नुहुन्छ?
मलाई के लाग्छ भने समाजसेवा पनि राजनीतिकै एउटा पाटो हो । बिना विचार, बिना उद्देश्यबाट हुने वा गरिने समाजसेवाले खासै प्रभाव राख्दैन । बिना विचारको व्यक्ति समाजमा स्थापित हुन सक्दैन । त्यसकारण यी दुवै बिषय एकअर्काका परिपुरक हुन् र सामन्जस्यता मिलाउन सकेको खण्डमा दुबैलाई निरन्तरता दिन सकिन्छ |
तपाईंले यहाँ एक दशक बिताईसक्नु भएको छ । यूएईमा उपस्थिति नेपाली समुदायको बिगत र वर्तमान अवस्थाको भिन्नता कस्तो रहेको छ र तपाईं यो राष्ट्रमा नेपालीहरुको लागि कस्तो अवसर र चुनौती देख्नु हुन्छ ?
म सन् २००२ मा यूएई प्रवेश गर्दा एक सामान्य लेबर सरहको जागिरको शिलशिलामा भित्रिएको र हाल म एक प्रतिष्ठित कम्पनीको उच्च तहमा कार्यरत रहेको अवस्थाले नै यूएईमा रहेका नेपालीको बिगत र वर्तमान बिचको फरक मापन गर्छ भन्ने मलाई लाग्छ । त्यतिबेला ठुलो समुहमा संगै बस्नुपर्ने, अफिस जान आउन पनि समस्या नै हुन्थ्यो, सिमित सुबिधा, बाटोमा नेपाली भेट्दा पनि ओहो ! भने जस्तो लाग्ने, नेपाली परिकारहरु खान मन लाग्दालाग्दै पनि नेपाली रेस्टुरेन्ट नभएका कारण सम्भव नहुने लगायत अहिलेका भन्दा थुप्रै फरक अवस्था थियो । अहिले त नेपाली ब्यबशाय नै प्रशस्त खुलिसकेका छन् ।
केहि हजारमा सिमित रहेका नेपालीहरु आजसम्म आइपुग्दा यो देशमा अढाई लाख भन्दा धेरै पुगिसकेका छन् । पहिलेको तुलनामा यूएईमा नेपाली श्रमिकहरुको जीवनमा धेरै सुधार आएको छ, आयाम वृद्धि भएको छ, समयसंगै शिप बिकाश र तालिम तथा सम्बन्धित बिषयको ज्ञान लिएर यूएई आएका नेपालीहरुले राम्रो आम्दानी गरिरहेका छन् |
वर्तमान अवस्थासम्म आइपुग्दा यूएईमा नेपालीहरुलाई अवसर वा चुनौती के बढी छ जस्तो लाग्छ तपाईंलाई ?
अवसरसंगै चुनौती त देखा परी नै हाल्छ । बिना चुनौतीको अवसर प्राप्त गर्न सकिदैन । म आफैं धेरै चुनौतीको बिचमा काम गरिरहेको छु र हरेक चुनौतीलाई पार गर्दै जान सकेका कारण सफल पनि भइरहेको छु जस्तो मलाई लाग्छ । हरेक सफल व्यक्तिको पछाडी अनेकौं चुनौती पार गरेको पृष्ठभूमि रहेको हुन्छ । यहाँ प्रशस्तै अवसर छन् । खासगरी यति धेरै विकसित राष्ट्रमा हाम्रो जस्तो विकासोन्मुख देशको नागरिकका लागि चुनौती नहुने त प्रश्नै भएन । तर चुनौतीका बावजुद प्राप्त अवसरलाई सदुपयोग गर्दै जाने हो भने नेपालीहरुलाई रोजगारीको लागि यो देश खाडी क्षेत्रमा उत्कृस्ट मान्नु पर्दछ ।
खाडी मलेसियामा रोजगारीमा जानुलाई त नेपालमा हेय भावले हेरिन्छ नि ?
यो मानिसहरुको सोच विचारमा भर पर्ने कुरा हो । अझ खाडी मलेसियामा काम गर्ने श्रमिकलाई जुन हेयभावको भावनाले हेरिन्छ, वास्तवमा भन्ने हो भने खाडी तथा मलेसियाबाट पठाएको रेमिट्यान्सले नै आज मुलुकको अर्थतन्त्र धानेको छ । जे जसरी भए जुन काम गरेर पनि खाडी र मलेसियामा काम गर्ने प्रवासी नेपालीहरु राष्ट्रप्रति बफदार र सेवक छन् । यहाँ श्रम बेच्न आएका नेपालीहरु अरु राष्ट्रमा गएका नेपालीहरु जस्तो ग्रीनकार्ड र पीआरको लागि आफ्नो मातृभूमि अनि कला संस्कृतिलाई भुलेर अर्काको गुलामी गर्दैनन् । जसले गर्दा एक न एकदिन आफ्नो देशप्रतिको मायो मातृभूमि फर्कन्छन् ।
युएईमा नेपालीको कमाई चाँहि कस्तो छ ?
युएई खाडीका मुलुकहरुमध्ये राम्रो मुलुक हो, नेपालीका लागि । यहाँ मासिक आठ सय दिरामदेखि ४०–० हजार दिराम अर्थात २०–२२ हजारदेखि १२–१३ लाख तलब हुने खाने नेपाली पनि छन् । तर, औसत नेपालीको मासिक तलब ५० हजार चाँहि हुन्छ । एक लाख भन्दा धेरै तलब बुझ्ने नेपालीको संख्या अधिक छ ।
तपाईं एमाले निकट प्रवासी नेपाली मञ्च यूएईको अध्यक्ष पनि हुनुहुन्छ । मञ्चले यूएईमा कार्यरत नेपालीहरुको सहयोग तथा राहत उद्धारको लागि के कस्ता कार्यहरु गर्दै आइरहेको छ ?
गत २१ फेब्रुअरीमा सम्पन्न मञ्चको तेश्रो अधिबेसनले मलाई अध्यक्षमा चयन गरेको छ र हामी यो कार्यकालमा यूएईमा समस्या भोगिरहेका नेपालीहरुको सहयोगको लागि बिशेष अभियान ल्याउने क्रममा छौं । बिगतमा मञ्चको तर्फबाट पटक पटक बिभिन्न समस्यामा रहेका नेपालीहरुलाई हामीले यथासक्य सहयोग उपलब्ध गराउदै आइरहेका छौं र आगामी दिनमा पिडित नेपालीको सहयोगार्थ प्रवासी नेपाली मञ्च यूएई योजनाबद्ध किसिमले अघि बढ्नेछ । भर्खरै सम्पन्न मञ्चको तेश्रो पूर्ण बैठकद्वारा हामीले एक राहत तथा उद्धार बिभाग पनि गठन गरिसकेका छौं र आगामी दिनमा सोहि बिभाग मार्फत सहयोगका कार्यक्रम अघि बढ्नेछन् र हाम्रो मञ्चको सिंगो टिम यस कार्यको लागि एकजुट भएर लागी पर्नेछ ।
५ दर्जन भन्दा बढी संघ संस्था रहेको भएपनि पिडित नेपालीहरुको पक्षमा उपलब्धिपूर्ण ढंगले ठोस कार्यहरु हुन सकेका छैनन् भन्ने गुनासा पनि सुनिन्छ नि ?
पहिलो कुरो त संस्था उदाउने र अस्ताउने क्रम अन्यत्र झैं यहाँ पनि जारी छ । संस्था जन्मिनु ठुलो कुरो होइन तर संस्थालाई निरन्तरता दिएर अघि बढाउनु ठुलो कुरा हो । त्यसमा कति सफल हुन्छन कति हुदैनन् त्यो छुट्टै बिषय हो । संस्थामात्रै छन् तर सहयोगका क्षेत्रमा कामै भएन भन्ने कुरामा म सहमत हुन सक्दिन । हाम्रै संगठनले पटक पटक यस्ता अनगिन्ति सहयोगका कार्य गरेको छ । हाम्रै संगठनका सदस्यको नेतृत्व रहेको गैर आवासीय नेपाली संघ यूएईले भर्खरै मात्रै यूएईमा मृत्युदण्डको सजाए सुनाइएका अनिश खालिंग राईको जीवन रक्षार्थ ठुलो आर्थिक सहयोग जुटाएको छ । एनआरएनए यूएईका अध्यक्षको संयोजकत्वमा रहेको समितिले उक्त कार्यको लागि यूएईबाट मात्रै २५ लाख रुपैया संकलन गरी नेपाल पठाएको छ । म नेपाली समाज यूएईको महासचिव हुँदा पनि राहत उद्धारका कार्य भएका थिए । यहाँ क्रियाशील संगठन तथा कतिपय जिल्लास्तरीय क्षेत्रीय संस्थाहरुले पनि मानवीय सहयोगका क्षेत्रमा योगदान पुर्याउदै आइरहेका छन् ।
यूएईको नेपाली दुतावास र यहाँ क्रियाशील नेपाली संघसंस्था तथा समाजसेवी बीच सुमधुर सम्बन्ध छैन भन्ने सुनिदै आएको छ, किन त्यस्तो भएको होला ? मञ्चको दुतावाससंगको सम्बन्ध कस्तो रहँदै आएको छ ?
कुनैपनि व्यक्ति तथा संघसंस्था बीचको पारस्परिक समबन्ध व्यक्तिको आचरणमा भरपर्ने कुरा हो । यूएईमा बिगतका राजदुतहरुको यहाँका संघसंस्था र समाजसेवीहरु प्रतिको धारणा अत्यन्तै सकारात्मक रहँदै आएको थियो । उहाँहरुले संघसंस्थासंग निरन्तर संवाद र सहकार्यलाई अघि बढाउनु भएको थियो । राजदुतको संघसंस्था र समाजसेवीहरुलाई हेर्ने दृष्टिकोण अनुसार नै उनीहरुको पनि राजदुत र दुतावास प्रतिको सम्बन्ध निर्धारण हुने हो । निरन्तर केहि व्यक्ति विशेषको घेरा भित्र मात्रै बस्न रुचाउने, दुतावासमा सिमित चिनजानका व्यक्तिहरुको मात्रै पहुँच र बोलवाला रहने अनि उनीहरुकै संलग्नतामा मात्रै दुतावासले औपचारिक रात्रिभोजहरु आयोजना गर्ने लगायतका गतिबिधि हुन्छन भने संघसंस्थाले मात्रै दुतावासलाई एकोहोरो सहयोग गर्नुपर्छ भन्ने प्रश्नै रहदैन । दुतावासलाई यहाँ रहेका सबै नेपालीको सर्वसुलभ पहुँचमा पुर्याउन संघसंस्थाहरुसंग सहकार्य र समन्वय गर्दै जनागुनाशालाई उचित रुपमा सम्बोधन गर्न कार्ययोजना सहित दुतावास अग्रसर हुने हो भने संघसंस्थाहरुको सहयोग नरहने कुरै छैन । यहाँ क्रियाशील संघसंस्थाहरुसंग समन्वय गरेर अघि बढेको खण्डमा दुतावास र राजदुत पूर्ण रुपमा सफल हुने कुरामा दुइमत छैन । प्रवासी नेपाली मञ्चको सवालमा दुतावाससंग हाम्रो अत्यन्तै निकट सम्बन्ध रहेको वा सम्बन्ध बिग्रिएर दूरी बढेको अवस्था पनि छैन । हामीले दुतावासको बारेमा कहीं कतै अनावस्यक प्रचार गर्दै हिड्ने गरेका छैनौं | राम्रो कार्य भएको खण्डमा हामी प्रशंसा गर्न भुल्दैनौं ।
समाजसेवाकै उद्देस्य भएपनि प्रवासमा संगठनहरु आपसी प्रतिस्पर्धा र वादविवादमा लाग्ने गरेका जनागुनासहरु यत्रतत्र पाइएको छ नि , किन होला ?
व्यक्तिगत प्रचारवाजीका लागि संस्था खोल्ने, बर्षमा एउटा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने अनि त्यसैलाई समाजसेवाको नाम दिने र बास्तवमै सामाजिक सेवामा दत्तचित्त रहेर निरन्तर पिडितको पक्षमा लागिरहने संस्थाबीचको द्वन्दलाई सामान्य रुपमा हेर्नुपर्ने हुन्छ । असहायको सहयोगमा क्रियाशील संस्थाहरु कसले के भन्छ भन्ने कुराको पछी नलागी निरन्तर सेवादायी भावले लागिरहनु पर्दछ । यो नै सबैको लागि कल्याणदायी हुनेछ । विचारको बहस र विवाद आफ्नो ठाउँमा हुनसक्छ तर प्रवासमा संगठनहरुको उद्देस्य समाजसेवा नै भएकाले त्यस्तो प्रतिस्पर्धा गरिरहनुपर्ने देखिदैन ।
यूएईमा कार्यरत कति नेपालीहरु समक्ष संघसंस्था, संगठनहरुको पहुँच पुगेको जस्तो लाग्छ तपाईंलाई ?
दुबईमा अधिकतम नेपालीहरु रहेका र कार्यक्रमहरु सफल हुन सहभागीहरुको ठुलो महत्व रहने हुँदा प्राय संघसंस्थाका कार्यक्रम दुबई केन्द्रित रहेका छन् उद्देश्य राजधानी शहर भएकाले आबुधाबीमा पनि कार्यक्रमहरु हुने गरेका छन् उद्देश्य तर यूएईका अन्य स्थानमा संघसंस्थाको कार्यक्रमहरु भएको बिरलै सुन्न पाइन्छ उद्देश्य अबका दिनहरुमा पक्कै पनि नेपालीहरु रहेका सबै क्षेत्रहरुमा कार्यक्रमहरु संचालन गर्नुपर्ने आवस्यकता देखिन्छ उद्देश्य प्रवासी नेपाली मञ्चको कुरा गर्दा हामीले दुबई र आबुधाबी बाहेक यूएईको अलऐन, बदाजायेद लगायतका स्थानमा पनि निरन्तर रुपमा नेपालीहरुसंगको सम्पर्कलाई निरन्तरता दिनका लागि कार्यक्रमहरु गर्दै आइरहेका छौं उद्देश्य मञ्चको मातहत रहेका सबै ७ वटै क्षेत्रीय समितिहरुले आ-आफ्ना क्षेत्रमा साना ठुला कार्यक्रमहरु गर्दै आइरहेका छन् जसको हामी उच्च प्रशंसा गर्दछौं ।
प्राय संगठनहरुमा अर्काको नेतृत्व रहुन्जेल आफुले सहयोग नगर्ने र आफु नेतृत्वमा पुगेपछि सहयोग पाइएन भन्ने दोहोरो मानसिकताले काम गरेको पाइन्छ । तपाईं अहिले नेतृत्वमा स्थापित हुनुभएको छ , यसबारेमा तपाईंलाई चाहिं कस्तो अनुभव भइरहेको छ ?
निकै महत्वपूर्ण प्रश्न सोध्नु भयो । जसले अरुको नेतृत्व स्वीकार्न सक्दैन तिनीहरु यस्ता कार्यमा संलग्न हुने हुन् । मलाई लाग्छ यस्ता क्रियाकलापले कुनैपनि संगठन वा संघसंस्थालाई फाइदा पुर्याउदैन र जहाँ यस्ता सोच भएकाहरुको बाहुल्यता रहन्छ त्यो संस्था सफल हुन सक्दैन । संस्था हाक्न सक्ने क्षमता भएका जसले नेतृत्व गरेपनि सहयोग गर्नु सदस्यहरुको कर्तब्य हो ।
हामीमा कहिल्यै पनि व्यक्तिको नाउँमा अनावस्यक विवाद भएको छैन । गत फेब्रुअरीमा सम्पन्न तेश्रो अधिबेसनबाट निर्वाचित २३ सदस्यीय सिंगो समितिबाट मैले भरपुर सहयोग प्राप्त गर्दै आइरहेको छु । नयाँ साथीहरुको जोश, जाँगर, उमंग र पुराना साथीहरुको सैद्धान्तिक ज्ञान तथा सांगठनिक अनुभवलाई समिश्रण गर्दै यूएईको संगठनलाई नमुनाको रुपमा बिकशित गर्न हाम्रो प्रयाश जारी रहनेछ । व्यक्तिलाई सहयोग गरेर कुनै व्यक्तिलाई मात्रै सफल बनाउने भन्दा पनि सिंगो संगठनलाई सफल बनाउनेतर्फ हाम्रा सबै सदस्यहरु स्पष्ट हुनुभएकाले अहिलेजस्तै सहयोग सधैं पाइरहने बिश्वास व्यक्त गर्दछु ।
निर्वाचित प्रवासी नेपाली मञ्च यूएईको भावी कार्ययोजना र यूएईमा रहेका नेपालीले यो संगठनबाट गर्नसक्ने अपेक्षा के कस्ता रहलान् ?
हामी तेश्रो अधिबेसनलाई शान्तिपूर्ण र सहमतीय आधारमा सम्पन्न गर्दै नयाँ कार्यकालका लागि नयाँ कार्यसमिति सहित अघि बढेका छौं | नयाँ कार्यसमितिले बिगतमा मञ्चमा रही योगदान पुर्याएका केहि साथीहरुलाई समेट्दै पनि छ । हाम्रो अभियान कुनै व्यक्ति वा समुहका पक्षका निम्ति नभई हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) को पक्षमा रहनेमा हामीमा दुइमत छैन । त्यसैले संगठनबाट अपेक्षा भन्दा पनि संगठनलाई आफुले पुर्याएको योगदानको बारेमा गम्भीर भएर सोच्न म संगठनभित्रका साथीहरुलाई अनुरोध गर्दछु ।
भर्खरै सम्पन्न मञ्चको तेश्रो बैठकबाट धेरै बिषयमा निर्णय भएका छन् । पार्टीको नवौं महाधिबेसनमा हामीले गर्न सक्ने सहयोग, हामीले खेल्ने भूमिका र यूएईका नेपाली श्रमिकहरुका समस्याका बारेमा त्यहाँ उठाउने बिषयबस्तुहरुमा छलफल भएका छन् । यूएईका नेपालीहरुको समस्यामा सहयोग पुर्याउनका लागि राहत तथा उद्धार बिभाग लगायत अन्य जिम्मेवारी बांडफांड गर्दै साथीहरुलाई निरन्तर संगठनमा क्रियाशील रहन उत्साहित गर्ने कार्य भएको छ । क्षेत्रीय कमिटीहरुको पुनर्गठन गर्ने र नयाँ कार्यक्रमहरुका साथ संगठनलाई नवीनता प्रदान गर्न सिंगो संगठन लागिसकेको छ । यूएईमा कार्यरत नेपालीहरुको समस्या, दुतावास सम्बन्धि जनगुनासाको बारेमा हामी संगठनमा कुरा उठाउनेछौं र यहाँका पिडित नेपालीको सहयोगार्थ यथासक्य पहल गरिनेछ ।
तीज, दशैं, तिहारका नियमित कार्यक्रमहरुले निरन्तरता पाउनेछन र संगठनका अन्तरिक कार्यक्रमहरुलाई अझै शसक्त ढंगले संचालन गरिनेछ । यस कार्यकालमा मध्यपूर्वमा रहेका नेकपा (एमाले) का संगठनहरुसंग समान बिषयहरुमा संयुक्त रुपमा अघि बढ्ने प्रयासको थालनी गरिनेछ र यस बिषयमा हाम्रो समितिका महासचिव उत्तम अधिकारीले आवस्यक पहल पनि गर्दै हुनुहुन्छ । यस संगसंगै यूएईमा रहेका सबै नेपाली राजनैतिक दलका प्रवास संगठनहरुसंग यहाँका नेपालीहरु संग सम्बन्धित समस्या समाधानका लागि निरन्तर छलफल र बहसलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।
नेकपा (एमाले)को नवौं महाधिबेसनमा यूएईको तर्फबाट सहभागिता रहन्छ कि रहदैन ?यदि रहन्छ भने नेपाली श्रमिकसंग सम्बन्धित के कस्ता मुद्दाहरु उक्त महाधिबेसनमा उठाउनुहुन्छ?
राजनैतिक संगठनमा कार्यगर्ने साथीहरुको लागि पार्टीको महाधिबेसन भनेको ठुलो चाड हो । त्यस्ता चाडपर्वमा नरमाउने वा सरिक नहुने भन्ने प्रश्न नै हुदैन । नेकपा (एमाले) को घोषित नवौं महाधिबेसनमा यूएईको तर्फबाट प्रतिनिधित्व रहन्छ । कतिजना महाधिबेसन प्रतिनिधि हामीले पाउछौं भन्ने पार्टीकेन्द्रले निर्णय गर्ने कुरा हो ।
उक्त महाधिबेसनमा हामी सुरक्षित र ब्यबस्थित बैदेशिक रोजगारको बिषयलाई छलफलमा लैजाने छौं | यसै बिषयभित्र खाडी राष्ट्रमा नेपालीहरुले बैदेशिक रोजगारीको क्रममा भोगिरहेका समस्याहरु, श्रम स्वीकृति र नवीकरणका क्रममा हुने घुसखोरी र दलाल प्रवृतिहरु, बैदेशिक रोजगार सम्बन्धि झन्झटिला प्रकृयाहरु, दुतावासको अवस्था, कर्मचारीको ब्यबहार र सेवाग्राहीका गुनासाहरु, एमआरपी पासपोर्ट प्राप्त गर्नमा भइरहेको ढिलाई लगायत सम्बन्धित समस्त मुद्दाहरु पर्नेछन । हामी चाहन्छौं कि खाडी रास्ट्रमा ५० डिग्रीको तापक्रममा पसिना पोख्ने नेपालीहरुको आवाज देशको नीति निर्माण गर्ने उच्च तहमा प्रस्तुत होस् र बिदेशिएका नेपालीहरुको अवस्थाका बारेमा राज्य हाक्ने शक्ति यसबाट बेखबर नबनोस । एमाले त्यो शक्ति भएकाले हामी अवस्य पनि यी मुद्दाहरु महाधिबेसनमा उठाउनेछौं र माथि भने जस्तै सुरक्षित र ब्यबस्थित बैदेशिक रोजगारका बारेमा हामी स्पष्टताका साथ उभिनेछौं । यसका लागि मध्यपूर्वमा स्थापित नेकपा (एमाले) का संगठनहरु बीच आपसी छलफल मार्फत समान मुद्दामा समान धारणा सहित महाधिबेसनमा प्रस्तुत हुनका लागि हामी प्रयास गरिरहेका छौं ।
अन्त्यमा, तपाईंको नेतृत्व रहेको मञ्चमा आवद्ध सदस्यहरु तथा यूएईमा रहेका एमालेप्रेमी समुदायलाई केहि भन्न चाहनुहुन्छ ?
सर्वप्रथम प्रवासी नेपाली मञ्च यूएईको तेश्रो अधिबेसन मार्फत सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्नुभएकोमा निवर्तमान कमिटीका सम्पूर्ण सदस्यहरु, वर्तमान कार्यसमितिमा निर्वाचित साथीहरु, मातहत रहेका सबै क्षेत्रीय समितिका साथीहरु, युवा तथा महिला बिभाग अन्तर्गत रहेका संगठनहरु तथा यूएईमा रहनु भएका पार्टीका क्रियाशील सम्पूर्ण साथीहरुमा धन्यवादका साथ कृतज्ञता अर्पण गर्दछु । सबै साथीहरुको बिस्वास र भरोसाबाट निर्मित अहिलेको कार्यसमिति सबैको भावनालाई समेट्ने गरि अघि बढ्नेमा बिस्वस्त हुन सम्बद्ध सबैमा म आग्रह गर्दछु ।
यूएईमा नेपालीहरु कार्यरत सबै क्षेत्रहरुमा प्रवासी नेपाली मञ्च यूएईका क्षेत्रीय कमिटीहरु विस्तार गर्ने, नेपालमा रहदा पार्टीको कार्यमा अहोरात्र खटेर योगदान पुर्याउनु भएका तर यहाँ बिभिन्न कारण क्रियाशील हुननसक्नु भएका साथीहरुलाई स-सम्मान क्रियाशील गराउने हाम्रो योजना रहेको छ । विचारबाट निर्देशित व्यक्तिहरु बैचारिक संगठन भन्दा टाढा रहन नसक्ने हुँदा हामीलाई जहाँ गएपनि संगठनको आवस्यकता पर्ने गरेको हो, त्यसकारण इच्छा हुँदा हुँदै पनि बिभिन्न अप्ठ्यारा परिस्थितिका कारण सम्पर्कमा आउन नसक्नु भएका यूएइवासी तमाम एमालेप्रेमी साथीहरुलाई म प्रवासी नेपाली मञ्च यूएईको तर्फबाट यसै मिडिया मार्फत हाम्रो सम्पर्कमा आउन आग्रह गर्दछु ।














प्रतिक्रिया