१ कार्तिक २०८३, आइतबार

बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ ।

नेपाल भ्रमणमा रहेका बंगलादेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बंगलादेशबीचको कुटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको अवसरमा दुई राष्ट्रबीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो ।

‘नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारका लागि त्रिपक्षीय सम्झौता भएको छ । यसको प्रभावकारी कार्यन्वयनसँगै लगानीका लागि हामी आह्वान गर्दछौ,’ चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने । बंगलादेशमा सडक सञ्जालसँगै हवाई सम्पर्क विस्तार गरेर नागरिकको तवरबाट पनि सम्वन्ध विस्तार गर्नुपर्नेमा अध्यक्ष मल्लले जोड दिएका छन् ।

बंगलादेशसँग नेपालको व्यापारघाटा उच्च रहेको सन्र्दभमा अध्यक्ष मल्लले निर्यात सम्भावना भएका बस्तुहरूको खोजी गर्नुपर्नेमा जोड दिए । नेपालले ऊर्जा व्यापारमार्फत व्यापार घाटा कम गर्न सक्ने सम्भावना भएकाले यसको सहजीकरण गर्न तथा विद्युतमा लगानीका लागि मल्लले आग्रह गरेका छन् ।

बंगलादेशमा ऊर्जाको माग उच्च रहेको सन्दर्भमा नेपालबाट निर्यात गर्ने विभिन्न विकल्पमा दुई पक्षीय छलफल भएको थियो । नेपाल, बंगलादेश र भारतबीच ऊर्जा व्यापारसम्बन्धी सम्झौता भए पनि यसको व्यावहारिक कार्यन्वयन हुन सकेको छैन ।

चेम्बर अध्यक्ष मल्लले विद्युत व्यापारको सहजीकरणसँगै नेपालमा जलविद्युतमा लगानी गर्न बंगलादेशका उद्योगी व्यवसायीसँग आग्रह गरेका छन् । यस्तै, नेपालमा साना तथा मझौला उद्योगमा समेत लगानीका लागि नेपाल खुला रहेको र लगानी सुरक्षणका लागि सरकारसँग आफूहरूले पहल गर्ने अध्यक्ष मल्लले बताए ।

बंगलादेशको लालमोनिरहात चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष मोरोल ह्युमायुन कबिरले दुई देशको व्यापार सहजीकरणका लागि सडक पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । हवाईसँगै स्थल मार्गलाई समेत जोड्न दुवै राष्ट्रले पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालमा ऊर्जा, पर्यटन क्षेत्रमा लगानीका लागि आफूहरू तयार रहेको तर नीतिगत सहजीकरणका लागि चेम्बरले पहल गर्नुपर्ने कबिरले बताए ।