
काठमाडौं, ७ पुस । संसदमा प्रतिनिधित्व गर्ने प्राय: सबै राजनीतिक दलहरूले संसदीय दलको नेता र उपनेताहरू चयन गरिसकेका छन् ।
त्यससँगै दलका नेताहरू सत्तामा पुग्ने बाटो तयार गर्दै शक्ति सन्तुलनको बाँडफाँटमा केन्द्रित भएका छन् । यद्यपि, ठोस निर्णय र निष्कर्षहरू भने कतैबाट पनि आएका छैनन् ।
खासगरी राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखलगायत पदमा कुन दलबाट कसले नेतृत्व लिने भन्ने विषयमा दलका नेताहरूको छलफल केन्द्रित भइरहेको छ । शक्ति सन्तुलमा कुरा मिल्नेवित्तिकै मुलुकले नयाँ सरकार प्राप्त गर्नेछ ।
सरकार गठनका लागि पाँचदलीय सत्ता गठबन्धनकै दलहरू क्रियाशील भइरहेका देखिन्छन् । निर्वाचनबाट दोस्रो ठूलो दल नेकपा एमाले प्रतिपक्षमा बस्ने मनस्थितिका साथ सरकार गठनको दौड देखिएको छैन । तर, आन्तरिक रूपमा उसले पनि गठबन्धनको प्रस्तुति हेरेर अगाडि बढ्ने दाउ हेरिरहेको चर्चा चल्न थालेको छ ।
हेरौँ दिनभरका मुख्य–मुख्य १५ हेडलाइनहरू–
१. सांसदहरूले लिए सपथ : प्रतिनिधि सभामा नव निर्वाचित २ सय ५७ जना सांसदहरूलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराद्वारा सपथ, अनुपस्थित १७ जना सांसदलाई पछि सपथ ग्रहण गराइने ।
२. राष्ट्रिय अर्थतन्त्र गम्भीर अवस्थामा : गम्भीर अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा फर्काउन कृषि, वन पैदावार तथा जडिबुटीजन्य उद्योगतर्फ केन्द्रित हुनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड, आयात बढ्दै जाने तथा व्यापार घाटा बढिरहँदा राष्ट्रिय अर्थतन्त्र नै गम्भीर अवस्थामा पुगेको भनाई ।
३. बिकिनी किलर रिहा : बिकिनी किलर चाल्र्स शोभराज केन्द्रीय कारागारबाट भोलि रिहा हुने, उनकै देश फ्रान्स डिपोर्ट गर्ने तयारी ।
४. एमालेको सचिवालय बैठक : नेकपा एमालेको केन्द्रीय सचिवालयको पन्ध्रौँ बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्यो, मुलुकको समसामायिक राजनीतिक विषयवस्तुमा छलफल ।
५. बीएफ–७ भेटिएको छैन : कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सब भेरियन्ट बीएफ–७ नेपालमा नभेटिएको स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति, ४८ जनाको नमुना परीक्षणमा ओमिक्रोन भेरियन्टको अन्य सब भेरियन्ट पुष्टि भएको भनाई ।
६. प्रचण्ड संसदीय दलको नेता चयन : नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन, हितराज पाण्डे प्रमुख सचेतक बने, उपनेताको टुंगो लाग्न बाँकी ।
७. गठबन्धनकै सरकार बन्छ : आगामी सरकार गठबन्धनकै बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, प्रधानमन्त्रीबारे छलफल भइरहेको भनाइ ।
८. बल्ल राजीनामा दिदै पाण्डे : मुख्यमन्त्री छँदै प्रतिनिधि सभा सांसदको सपथ लिएर आलोचित बनेका बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार राजीनामा दिदै, प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जामन्त्री रामकुमार राईले हिजै राजीनामा ।
९. राष्ट्रपति पद कल्पनाबाहिरको कुरा हो : नेपाली राजनीतिले गरेको अपेक्षा अनुसारको भूमिकामा आफू अघि बढ्ने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको भनाई, राष्ट्रपति पदको परिकल्पनासमेत नगरेको स्पष्टीकरण ।
१०. निष्पक्ष छानबिन हुने विश्वास : नागरिकता विवादका सम्बन्धमा अधिकारप्राप्त निकायले निष्पक्ष छानबिन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विश्वास, अधिकार प्राप्त निकायले उपस्थित हुन भनेको ठाउँमा कुनै पनि बेला उपस्थित हुने भनाइ ।
११. सन्दीप लामिछानेलाई राहत : क्रिकेटर सन्दीप लामिछानेविरुद्व बलात्कार आरोप लगाउने किशोरीको उमेर १८ वर्षभन्दा माथि रहेको खुलासा, स्थानीय तहले पठाएको कागजात अदालतमा बुझाइयो ।
१२. दुर्घटनामा मृत्यु : चितवनमा चालू आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु, ९२ गम्भीर घाइते र २१५ सामान्य घाइते ।
१३. नेप्सेमा गिरावट : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले घट्यो, नेप्से परिसूचक शुन्ना दशमलव एक अङ्कले ओरालो लागेर एक हजार आठ सय ६७ दशमलव २१ मा सीमित ।
१४. रुससँग युक्रेनले हार्दैन : विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाई, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको र रुसले युक्रेनमाथिको नियन्त्रण गुमाइसकेको दाबी ।
१५. शनिबारदेखि टी–ट्वान्टी लिग : पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगिता एक दिन पछि सर्यो, प्राविधिक कारणले प्रतियोगिता पुस ८ गते बाट सारेर पुस ९ गते सुरू गरिने नेपाल क्रिकेट संघ (क्यान) को भनाइ ।















प्रतिक्रिया