
काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले बुधबार बिकिनी किलरका नाममा परिचित फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ ।
चाल्र्सको उमेर हद र स्वास्थ्य अवस्थाको कारण देखाउँदै रिहा गर्न अदालतले आदेश दिएको हो ।
यस्तै, भोलि मध्यान्ह १२ बजेका लागि सर्वदलिय बैठक आव्हान गरिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बैठक बस्नेछ । जबराले प्रतिनिधि सभाका सांसदहरुलाई सपथ खुवाउनुअघि सर्वदलीय बैठक बोलाइएको हो ।
हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य हेडलाइनहरु-
१. बिकिनी किलरलाई रिहा गर्न आदेश : बिकिनी किलरका नाममा परिचित फ्रेन्च नागरिक चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश, उमेर ७५ वर्ष पुगेको र मुटुसम्बन्धी रोगबाट पीडित रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत कैद सजाय भुक्तान गरिसकेको देखिएको आदेशमा उल्लेख ।
२. सर्वदलीय बैठक आह्वान : प्रतिनिधि सभाका सांसदको सपथअघि भोलि मध्यान्ह १२ बजेका लागि सर्वदलीय बैठक आह्वान, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका एक–एक जना र स्वतन्त्रबाट निर्वाचित सांसदहरुलाई बोलाइयो ।
३. ज्येष्ठ सदस्यको सपथ : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई सपथग्रहण, जबराले भोलि अन्य सांसदलाई सपथ खुवाउने ।
४. देउवा निर्वाचित : नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित, देउवाले ५४ मत पाउँदा महामन्त्री गगन थापाले २५ मत मात्रै पाए ।
५. सर्वोच्चले दिएन अन्तरिम आदेश : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार, दुवै पक्षलाई छलफलका लागि झिकाउन संवैधानिक इजलासको आदेश ।
६. देउवा र दाहाल पुगे अस्पताल : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा पुगेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेटे, स्वास्थ्यबारेमा जानकारी लिनुका साथै समसामायिक राजनीतिक विषयमा कुराकानी ।
७. अध्यक्ष ओलीको निर्देशन : भोलि दिउँसो १ बजे हुने सपथ ग्रहणमा राष्ट्रिय पोसाक लगाएर उपस्थित हुन नवनिर्वाचित प्रतिनिधि सभा सांसदहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशन, निर्देशनप्रति केहि सांसदको असन्तुष्टि ।
८. संसदीय दलको नेता छान्दै : नेकपा माओवादी केन्द्रले भोलि सांसदहरुको सपथपछि संसदीय दलको नेता चयन गर्ने, दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निश्चित जस्तै ।
९. महन्थ ठाकुर दलको नेता चयन : लोकतान्त्रि समाजवादी पार्टीको संसदीय दलको नेतामा महन्थ ठाकुर चयन, प्रमुख सचेतक र अन्य पदको विषयमा पछि छलफल गरेर टुंगो लगाइने ।
१०. खनाल र शाहको भेट : पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहबीच खनाल निवास डल्लुमा भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल ।
११. ठेक्काविरुद्व अन्तरिम आदेश : नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्गको छैठौँ प्याकेजको ठेक्का चिनिँया कम्पनीलाई दिएपछि भारतीय कम्पनीले दायर गरेको रिटमा सर्वोच्च अदालतद्वारा अल्पकालिन अन्तरिम आदेश जारी, दुवै पक्षलाई ८ गते छलफलका लागि डाकियो ।
१२. यातायात व्यवस्था विभागको निर्देशन : फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारीसाधनलाई यातायात व्यवस्था विभागको निर्देशन, इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारीसाधन सडकमा देखिए चैतबाट दुई हजार जरिवाना गरिने ।
१३. सुनको मूल्य बढेको बढ्यै : बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सयले बढ्यो, छापावाल सुन तोलामा १ लाख १२ हजार र तेजाबी सुन प्रतितोला १ लाख ७ सयमा कारोबार ।
१४. महिलालाई विश्वविद्यालयमा प्रतिबन्ध : अफगानिस्तानमा महिलालाई विश्वविद्यालयमा प्रवेश नदिन तालिवान सरकारको निर्देशन, तालिवान सरकारको निर्णयप्रति विभिन्न संघसंस्थाको आपत्ति ।
१५. आन्द्रे माकार्थी कप्तान : शुक्रबारदेखि हुने नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सको कप्तानी वेस्ट इन्डिजका आन्द्रे माकार्थीले गर्ने, नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेललाई उपकप्तानको जिम्मेवारी ।















प्रतिक्रिया