१ कार्तिक २०८३, आइतबार

उद्देश्यहीन सरकार गठनमा लेनदेन र सेटिङको खेल हुनु डरलाग्दो सङ्केत हो : अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्देश्यहीन भावी सरकार गठनका क्रममा भइरहेको लेनदेन र सेटिङको खेल मुलुकका लागि डरलाग्दो सङ्केत भएको बताएका छन् ।

आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेबाहेकका राजनीतिक दलहरू अहिले स्वार्थ, लेनदेन र गठबन्धनका आधारमा चलेको बताउँदै यसरी चलखेल र लेनदेन हुनु गम्भीर र डरलाग्दो सङ्केत भएको बताएका हुन् । स्वार्थ र लेनदेनका आधारमा पार्टी र सरकार चल्न थाल्नु देशलाई गम्भीर अस्थिरतातर्फ धकेल्नु भएको ओलीको टिप्पणी छ ।

अध्यक्ष ओलीले सरकार केका लागि बन्ने भन्नेमा गठबन्धनका दलहरू नै स्पष्ट नभएको बताउँदै उद्देश्यहीन सरकार गठन हुनुले देशलाई कुनै फाइदा नहुने बताएका छन् । विकास र सुशासनलाई कमजोर पार्ने खेल अनुसार भावी सरकार गठन हुन लागेको ओलीको भनाइ छ ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले पार्टीबाट नवनिर्वाचित सांसदहरुलाई आफूले खेल्नुपर्ने भूमिकाका बारेमा गम्भीर बन्न निर्देशन दिएका छन् । जनप्रतिनिधिले साँच्चैको भूमिका खेल्न जरुरी रहेको भन्दै पार्टीको नीति र निर्देशनअनुसार संसद र संसदबाहिर पनि भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

‘साँच्चो जनप्रतिनिधि कस्तो हुन्छ ? साँच्चैको जनप्रतिनिधिले बाहिर कस्तो र संसदमा कस्तो भूमिका खेल्नुपर्छ ? यी कुराहरूमा अत्यन्तै गम्भीरतापूर्वक ध्यान दिनु र क्रियाशील हुन जरुरी छ,’ ओलीले भने ।