
मकवानपुर, ४ पुस । विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले विश्वकपको उपाधि हात पारेपछि उनका फ्यानहरुले विभिन्न तरिकाले विजय उत्सव मनाइरहेका छन् ।
कतारमा सम्पन्न फिफा विश्वकपको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेसँगै अर्जेन्टिनाका समर्थकहरुले आ–आफ्नो तरिकाले खुशी साटासाट गरिहेका छन् ।
विश्वकपको उपाधि हात पारेको खुशीमा मेस्सीका एक फ्यानले एक्लै ९ घण्टा सडक सफाई गदै जितको खुशी मनाएका छन् । अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि हाँसिल गरेको खुशीमा मकवानपुरको हेटौंडा–१७ निवासी प्रदिप थापाले सोमबार बिहान ७ बजेबाट अपरान्ह ४ बजेसम्म ९ घण्टा एक्लै सडक सरसफाई गरेर जितको खुशी मनाएका हुन् ।
फोहोर हाल्ने बोरा, बोक्ने रिक्सासँगै नेपाल र अर्जेन्टिनाको एक-एक थान झण्डासँगै आई लभ मेस्सी लिखित तस्वीर लिएर थापाले ९ घण्टा सरसफाई गरेका थिए । थापाले हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड अन्तर्गत हेटौंडा-१७ को सालक पार्कबाट हेटौंडा-५ क्याम्पाडाँडासम्मको ७ किलोमिटर सडकमा भएका फोहोर संकलन गरेका थिए ।
समाजमा सकारात्मक सन्देशसँगै वातावरणको स्वच्छता कायम राख्न मद्दत पुगोस् भन्ने उदेश्यले अर्जेन्टिनाको जितेको खुशीमा सडक सरसफाई गरेको थापाको भनाइ छ । थापाले संकलन गरेको करिब ७ बोरा फोहोर हेटौंडा-१० राप्ती खोला किनारमा रहेको ल्यान्डफिल्ड साईड (फोहोर पाल्ने स्थान) मा बिर्सजन गरिएको थियो ।















प्रतिक्रिया