
काठमाडौं, ४ पुस । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मुलुकभर एकै चरणमा सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार आयोगको कार्यालय कान्तिपथमा आयोजित जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नवनिर्वाचित सांसद लगाएतको सहभागिता थियो ।
समारोहमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनका सम्पूर्ण कामहरु सफलतापूर्वक सम्पन्न भएको बताए । शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने आयोगको मूल मन्त्रलाई आत्मसात् गरी आयोगको नेतृत्वमा सबै सरोकारवालाहरूको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उहाले बताए ।

थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको धारणा व्यक्त गरे ।
नयाँ निर्वाचन कानूनको मस्यौदा तयार गरी नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो अधिवेशनमै निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक पेस गर्नेगरी तयारी गरिएको र सोे विधेयक निर्वाचन व्यवस्थापन सुधार उन्मुख हुने उनले बताएका छन् ।
आयोगले गत मङ्सिर २९ गते राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाएको थियो ।















प्रतिक्रिया