१ कार्तिक २०८३, आइतबार

आफ्नै नेतृत्वमा सरकार गठन गर्न गठबन्धनभित्र र बाहिर संवाद थाल्ने कांग्रेसको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरूसँग संवाद थाल्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानको व्यवस्था बमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएकाले गठबन्धन र अन्य दलहरूसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

उनले गठबन्धनको सरकारलाई निरन्तरता दिनु आफूहरूको लक्ष्य रहेको भन्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरूसँग पनि छलफल हुने बताएका छन् ।

गठबन्धन दलका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा दाबी गरेका छन् । दाहालले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको भन्दै प्रवक्ता महतले ठूलो दल भएकाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले पार्टीको संसदीय दलको नेतामा आफूहरूको प्रयास पार्टी सभापति शेरबहादुर देउवाकै नाममा सहमति जुटाउने भएको भन्दै सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियामा जाने बताए ।

कांग्रेसभित्र पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र गगन थापा संसदीय दलको नेतामा आकांक्षी छन् । कांग्रेस प्रतिनिधि सभामा ८९ सिटसहित पहिलो दल बनेको छ ।