
काठमाडौं, २८ मंसिर । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) को अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले आपत्ति जनाएको छ ।
मेयर राईले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेको “बल होइन बुद्धि लगा चमारे बुद्धि” भन्ने अभिव्यक्तिप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष देवराज विश्वकर्माले मेयर राईको अभिव्यक्ति संविधान, प्रचलित मूल्य मान्यतासँगै अन्तर्राष्ट्रिय मानवअधिकारको भावना र मर्म विपरित रहेको बताएका छन् ।
उनले मेयर राईलाई आफ्नो अभिव्यक्ति सच्याउन र दलित समुदायप्रति पर्न गएको चोटको आत्मालोचना गर्न अनुरोध गरेका छन् ।
यसैबीच, मेयर राईले लेखेको स्टाटस ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा चमारे बुद्धि !’ सच्चाएको देखिएको छ ।

आफूले लेखेको शब्दमा सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुले चर्को आलोचना गरेपछि मेयर राईले केहि शब्द हटाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ ! बल होइन बुद्धि लगा बुद्धि !’ लेखेका छन् ।

स्वतन्त्रबाट मेयर पदमा निर्वाचित भएका मेयर राईले पछिल्लो समयमा सामाजिक सञ्जालमा दिने गरेको अभिव्यक्तिको कारण आलोचित हुँदै आएका छन् ।












प्रतिक्रिया