१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । सरकारले नयाँ संसदलाई उपेक्षा गर्दै अध्यादेशमार्फत अपराधीहरूलाई उन्मुक्ति दिन खोजेपछि राजनीतिक दल, मानवअधिकारकर्मी, पूर्व आईजीपीहरू र नागरिकहरू बिरोधमा उत्रिएका छन् ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त सडक आन्दोलन नै सुरू गरिसकेको छ । यस्तै अध्यादेश फिर्ता नलिए कतिपय संघसंगठनहरूले आन्दोलनको आँधीबेहरी नै सृजना गर्ने चेतावनी दिदै आएका छन् भने कतिपयले राष्ट्रपतिले चाल्ने कदम पर्खिरहेका छन् । धेरैको चाहना सरकारले ल्याएको अध्यादेश स्वीकृत नहोस् भन्ने छ ।

यिनै विषयवस्तुहरूमै मंगलबार केन्द्रित भयो । हेरौँ मंगलबार दिनभरका प्रमुख हेडलाइनहरू–

१. राष्ट्रपतिको सुझाव : सामुदायिक विद्यालयले राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, मुलुकभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा जोड ।

२. अध्यादेशविरुद्ध तात्यो सडक : सत्ता प्राप्तीको स्वार्थबाट आएको अध्यादेशविरुद्ध तात्न थाल्यो सडक, अध्यादेश ल्याएर अपराधीहरुलाई उन्मुक्ति दिन खोजिएको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले गर्‍यो प्रदर्शन । नेपाल बारले पनि गर्‍यो अध्यादेशको बिरोध ।

३. विदा भए चोलेन्द्र : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विवादग्रस्त कार्यकाल मंगलबारदेखि सकियो, महाअभियोग प्रस्तावको टुंगो नलाग्दै उमेर हदका आधारमा पाए अवकाश ।

४. छलफल नगरी कानुन नबनाऔँ : संसदले पर्याप्त छलफलबिना कानून निर्माण गर्न नहुने पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको धारणा, छलफलबिना पास भएको कानूनले कानूनी तत्व ग्रहण गर्न नसक्ने भनाइ ।

५. पूर्व आईजीपीहरूले गरे अध्यादेशको बिरोध : अदालतबाट दोषी ठहर भएका र पुर्पक्षको क्रममा रहेका व्यक्तिको मुद्दा फिर्ता लिने अध्यादेशप्रति १३ पूर्व आईजीपीको आपत्ति, नेपाल प्रहरी पूर्वसंगठन मञ्चले गर्‍यो अध्यादेशको विरोध ।

६. अन्तिम परिणाम आउँदै : निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएसँगै भोलि निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोग, बुधबार साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरिदै ।

७. पराजयको पीडामा झलनाथ : इलाम–१ मा पुन: मतदान गर्न माग गर्दै नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालद्वारा सर्वोच्च अदालतमा रिट दायर, धाँधली गरेर आफूलाई हराएको भन्दै परिणाम अस्वीकार ।

८. कानुन बनाउँदा एकै ठाउँ उभिऔँ : दलका हिसाबले विभाजित भए पनि कानुन बनाउने बेलामा एकजुट हुनुपर्नेमा कांग्रेस महामन्त्री गगन थापाको जोड । सञ्चारसम्बन्धी ऐन, नियम र विधेयकहरूमा थप छलफल आवश्यक रहेको भनाइ ।

९. नयाँ पार्टी खोल्दै प्रभु : रौतहट–३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित स्वतन्त्र सांसद प्रभु साहद्वारा छुट्टै दल खोल्ने तयारी, पार्टीको नाम ‘आम जनता पार्टी’ राख्ने प्रस्ताव ।

१०. दुर्घटनाका घाइतेको घाँटी रिटियो !: काठमाडौंको तारकेश्वर नगरपालिका–३ तीनपिप्लेमा टिपरले ठक्कर दिँदा घाइते भएका सविन फुयाँलको घाँटी रेटेर वीभत्स हत्या ! प्रहरीले पीडितको जाहेरी लिनै मानेन ।

११. लोसपा सरकारमा जाने : गठबन्धनको सरकारमा जाने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को निर्णय, गठबन्धनबाटै निर्वाचनमा गएकाले गठबन्धन सरकारमा जानु स्वाभाविक भएको नेता शरदसिंह भण्डारीको भनाइ ।

१२. एक्स–रे सेवा बन्द : जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मर्कामा, पारिवारिक समस्याका कारण एक्स–रे सेवा ठप्प ।

१३. सरकारविरुद्ध व्यवसायीको प्रदर्शन : सरकारको पछिल्लो नीतिले अटोमोबाइल्स व्यवसाय नै धरासयी हुने भन्दै चितवन र हेटौँडाका अटो व्यवसायीले गरे सरकारविरुद्ध प्रदर्शन, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर्नुपर्ने माग ।

१४. कारोबार रकम घट्यो : नेप्से स्थिर रहे पनि कारोबार रकम एकैदिन ५८ करोड ८९ लाख रुपैयाँले घट्यो, कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चारवटा समूहको सूचक बढ्यो ।

१५. सेमिफाइनलका खेल सुरू : कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि सेमिफाइनलका खेल सुरू हुँदै, पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया तथा दोस्रो खेलमा फ्रान्स र मोरक्को भिड्दै ।