
काठमाडौं, २७ मंसिर । शहरी विकासमन्त्री मेटमणि चौधरीले गोकर्णेश्वर नगरपालिकामा निर्मित धाप ड्यामको सोमबार निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले धाप ड्यामले पर्यटन पवर्द्धनमा समेत ठूलो योगदान गर्ने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालित विभिन्न आयोजनाहरुका निरीक्षण गर्ने क्रममा गोकर्णेश्वर पुगेका मन्त्री चौधरीले भने, ‘यस ड्यामको निर्माणले वागमती सफाई गर्ने, वागमतीलाई सुन्दर बनाउने अभियानमा त सहयोग गर्ने नै छ । त्यसका साथै यहाँको पर्यटन पवर्द्धनमा समेत ठूलो योगदान गर्ने देखेँ ।’ मन्त्री चौधरीले नागमतीमा समेत यस्तै खाले ड्याम बनाउने योेजना समेत सुनाएका छन् ।
एडीबी र नेपाल सरकारको संयुक्त लगानीमा रू. ४१ करोडमा निर्माण भएको धाप ड्यामको उद्देश्य बागमतीमा पानी पठाएर पानीको बहाब नियमित गर्ने रहेको इन्जिनीयर रामबाबु शाहले बताए । विशेषगरी सुख्खा याममा बागमती नदीमा पानीको बहाब घट्न गइ दुर्गन्ध फैलनबाट बचाउने र चाडपर्वहरुका बेला समेत नदीमा पानी पठाउने लक्ष्य राखिएको इन्जिनीयर शाहको भनाइ थियो ।
सन् २०१७ मा सुरू भएको उक्त ड्यामको अब भने टेस्टिङ र कमिसनिङको काम मात्र बाँकी रहेको बताइएको छ ।















प्रतिक्रिया