१ मंसिर २०८३, मंगलबार

स्वास्थ्य एकाइ स्थापना गर्न महायज्ञ, ३५ लाख संकलन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २७ मंसिर । म्याग्दीको मङ्गला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्न रु ३५ लाखभन्दा बढी आर्थिक सहयोग जुटेको छ ।

यसका लागि यही मंसिर १५ देखि २२ गतेसम्म श्रीमद् भागवत धनधान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । महायज्ञ आयोजक समितिका प्रचार–प्रसार संयोजक खगेन्द्र खत्रीले सोमबार आम्दानी विवरण सार्वजनिक गरेका हुन् ।

“रु ३५ लाख ५९ हजार छ सय सहयोग घोषणा भएको छ”, उनले भने, “घोषणा भएको मध्ये रु ३१ लाख नगद प्राप्त भइसक्यो ।” ४४ मुरी धान र छ मुरी जौँ संकलन भएको छ ।

सामान्य बिरामी हुँदा आधारभूत स्वास्थ्य सेवा लिनसमेत घण्टौँ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफैँ लगानी जुटाउन पूर्णगाउँको शिवालय र लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ सञ्चालन गरिएको थियो । महायज्ञमा देवराज सुवेदीले कथावाचन गरेका थिए ।

महायज्ञका कार्यालय सचिव नीलकण्ठ सुवेदीले यज्ञबाट सङ्कलन भएको ३० प्रतिशत रकम शिवालय मन्दिर सञ्चालनका लागि कोष खडा गर्ने र ७० प्रतिशत रकमलाई सामुदायिक स्वास्थ्य एकाइ स्थापनार्थ परिचालन गरिने जानकारी दिए ।

पूर्णगाउँमा दुई सयभन्दा बढी घरधुरीको बसोबास छ । यो वडाको स्वास्थ्यचौकी कुहुँमा छ । पूर्णगाउँबाट कुहुँ पुग्न एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।

स्वास्थ्य संस्था टाढा हुँदा औषधोपचारमा समस्या भएकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गर्न लागिएको महायज्ञ आयोजक समितिका अध्यक्ष दुर्गादत्त आचार्यले बताए ।