
अर्घाखाँची, २६ मंसिर । आफूमाथि बारम्बार कुटपिट गरेको भन्दै अर्घाखाँचीमा श्रीमतीले श्रीमानको वीभत्स हत्या गरेकी छिन् ।
छत्रदेव गाउँपालिका–१ चिदिकाकी लक्ष्मी नेपाली आफ्नै श्रीमान ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेकी हुन् । हत्या अभियोगमा उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बल बहादुर सार्की आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका थिए ।
घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनीहरुबीच विवाद भई झै–झगडा हुँदा बलबहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको र सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाई हत्या गरेको खुलेको हो ।
लक्ष्मीउपर जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया