
काठमाडौं, २६ मंसिर । नेकपा एमालेका सचिव एवम् ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धनलाई देशको कुनै मतलव नभएको बताएका छन् ।
९ जनाको निर्मम हत्या भएको घटनामा मुख्य दोषी ठहर भई सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई आममाफी दिन सरकारले ल्याएको अध्यादेशमाथि टिप्पणी गर्दै उनले आफू बन्नका लागि गठबन्धनले देशलाई नै भाँडमा हाल्न खोजेको टिप्पणी गरेका हुन् ।
अध्यादेश ल्याउनु विद्यमान व्यवस्थामाथिको प्रहार भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेशमको नाम, अफ्ताबको काम, राजनीतिमा अपराधीकरण, अपराधको राजनीतिकरण, देश भाँडमा जाओस् कि व्यवस्था बदनाम होस् के मतलब गठबन्धन रहुञ्जेल । यो त कास्टिङ मात्र हो । पूरा सिरिज त आउन बाँकी नै छ !’
राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरणमा गठबन्धन रहेसम्म यस्तै भइराख्ने जिकिर उनको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेमश चौधरीलाई छुटाउने मुख्य उद्देश्य राखेर मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो । निर्णयको सर्वत्र आलोचना भइरहेको छ ।
कैलालीमा २०७२ मा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालकको निर्मम हत्या भएको ‘टीकापुर काण्ड’को प्रमुख योजनाकार रहेको ठहर गरेपछि चौधरी अहिले जेलमा छन् । उनलाइृ जेलबाट निकालेर सत्तारोहण गर्ने कांग्रेस सभापति शेरबहादुर देउवाको दाउ छ ।















प्रतिक्रिया