
काठमाडौं, २३ मंसिर । संसद सचिवालयले महाअभियोग दर्तापछि निलम्बनमा रहेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्प्रभावि भएको पत्र पठाएपछि ठूलै तरंग आयो ।
जबराले सर्वोच्च फर्कने तयारीसमेत गरका थिए । तर, संसद सचिवालयको निर्णयको चौतर्फी विरोध भयो । कानून व्यवसायीहरुले जबरालाई सर्वोच्चमा छिर्न नदिने भन्दै धर्ना पनि दिए । पत्रका विरुद्वमा सर्वोच्चमा रिटसमेत दर्ता भयो ।
रिटमाथि सुनुवाई गर्दै शुक्रबार सर्वोच्च अदालतले संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न आदेश दिँदै कारण देखाउ आदेश जारी गरेको छ ।
यस्तै, दलहरुबीच आगामी सरकार गठनका लागि रस्साकस्सी जारी नै छ । शीर्ष नेताहरुले भेटघाटलाई तीव्र पारेका छन् । यसैक्रममा शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा कांग्रेस नेता पौडेलले प्रचण्ड र भट्टराईलाई यो पटक प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
हेरौँ आज दिनभरका समाचारहरु-
१. पत्र कार्यान्वयन नगर्नु : चोलेन्द्र शमशेर जबराविरुद्वकोे महाअभियोग निष्क्रिय भएको संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश, जबरा र संसद सचिवालयका महासचिव भरतराज गौतमबीच साँठगाँठ भएको अधिवक्ता शम्भु थापाको आरोप ।
२. भ्रष्टाचार नियन्त्रण बाहिर : भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभावले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, राज्यको कुनै एउटा अङ्गको सक्रियताले मात्र भ्रष्टाचारविरुद्धको लडाइँ जित्न नसकिने जिकिर ।
३. सरकार बनाउने रस्साकस्सी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता, आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न पौडेलको आग्रह ।
४. जनमोर्चाको धारणा : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी गर्न नमिल्ने राष्ट्रिय जनमोर्चाको धारणा, महाभियोगमाथि छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत गर्नुपर्ने भनाइ ।
५. बैठक बस्दै : शुक्रबारका लागि बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक भोलि शनिबार बिहान ११ बजे बस्दै, समानुपातिक सांसदको अन्तिम नामावली टुङ्गो लगाइने ।
६. सशक्त प्रतिपक्ष : नेकपा एमाले सशक्त प्रतिपक्षको भूमिकामा रहने पार्टी उपाध्यक्ष विष्णु पौडेलको भनाई, वामपन्थीबीच अहिले नै सहकार्यको सम्भावना नरहेको टिप्पणी ।
७. संघीयताको औचित्य छैन : मुलुकमा संघीयताको औचित्य नरहेको नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’को ठहर, निर्वाचनले जनतामा खुसी र उल्लास नछाएको भन्दै दल र दलका नेताहरू सुध्रिनुपर्नेमा जोड ।
८. राप्रपाले बोलायो बैठक : राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो, प्रतिनिधि तथा प्रदेश सभातर्फको समानुपातिक सांसद टुङ्गो लगाउने बैठकको एजेण्डा ।
९. आयो मेलम्चीको पानी : काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी तेस्रो पटक पुन: वितरण सुरू, काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रतिवद्वता ।
१०. बहुबिवाह गर्नेलाई सांसद नबनाऊ : बहुविवाह गरेका नेतालाई प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकको सूचीबाट हटाउन माग गर्दै अभिवक्ता केदार लुईंटेलद्वारा सर्वोच्च अदालतमा मुद्दा दर्ता, बहुविवाह गर्ने व्यक्तिलाई जेल हाल्नुको सट्टा सांसद बनाउन खोज्नु गलत भएको जिकिर ।
११. सुनको मूल्य बढेको बढ्यै : शुक्रबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघ्यो, छापावाल सुन प्रतितोला १ लाख ३ सय रूपैयाँमा कारोबार ।
१२. आपतकालीन पूर्वाभ्यास : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन पूर्वाभ्यास सञ्चालन, आगामी जनवरी १ देखि विमानस्थल सञ्चालनमा आउँदै ।
१३. दु:खद खबर : बिरामी छोरी भेट्न पोखराको मणिपाल अस्पतालमा पुगेकी आमाको अस्पतालकै छतबाट खसेर मृत्यु, मृत्यु हुनेमा पोखरा महानगरपालिका–१८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्ती ।
१४. आक्रमण झनै तीव्र : युक्रेनी ऊर्जा प्रणालीहरूमा आक्रमण जारी राख्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उद्घोेष, आलोचनाले लडाइँलाई हस्तक्षेप नगर्ने टिप्पणी ।
१५. नेपालको वरीयता यथावत : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयताक्रम सार्वजनिक, नेपाल १०३औं स्थानमा यथावत ।















प्रतिक्रिया