
काठमाडौं, १८ मंसिर । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार पनि बसेको छ । बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
आगामी सरकार गठनका लागि एमालेसँग पनि ढोका खुल्ला रहेको भन्ने शनिबार अभिव्यक्ति दिएको माओवादीले बोली परिवर्तन गर्दै एमालेसँग सहकार्यको कुनै तयारी नरहेको बताएको छ ।
यस्तै, बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बद्री कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेको उम्मेदवार कर्णबहादु थापालाई पराजित गरेका हुन् ।
यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–
१. गठबन्धनको विकल्प छैन : वर्तमान गठबन्धनको विकल्पका रूपमा एमालेसँग सहकार्यको कुनै तयारी नरहेको माओवादी केन्द्रको स्पष्टीकरण, निर्वाचनमा देखिएका कमी–कमजोरीलाई आगामी दिनमा सुधार गर्दै पार्टीलाई सुदृढ बनाउने पदाधिकारी बैठकको निर्णय ।
२. कतै जित कतै हार : बाजुराबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका बद्री पाण्डे र दोलखाको प्रदेश सभा (२) मा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित । प्रतिनिधि सभातर्फ दोलखमा एमालेका शिबाकोटी र गठबन्धनका कार्कीबीच कडा टक्कर ।
३. लोकतन्त्र अपहरण नगर्न सुझाव : स्याङ्जा–२ बाट निर्वाचित कांग्रेसका धनराज गुरुङलाई एमाले उम्मेदवार पद्मा कुमारी अर्यालले दिइन् बधाई । आउँदा दिनमा बुथ कब्जा गरेर लोकतन्त्रको मूल्य र मान्यता अपहरण नगर्न गुरुङलाई सुझाव ।
४. कांग्रेसको निर्देशन : गठबन्धन र पार्टीलाई अन्तर्घात गरेको उजुरीहरू आगामी पुस १५ गतेभित्र केन्द्रीय अनुशासन समितिमा पठाइसक्न कांग्रेसको आह्वान, जिल्ला र प्रदेशमा अनुशासन समिति नभए गठन गरेर उजुरी सङ्कलन गर्न निर्देशन ।
५. सरकारले सार्वजनिक गर्यो सम्पत्ति : सरकारले सार्वजनिक गर्यो एक खर्ब ५० अर्ब ९५ करोड ९१ लाखको सम्पत्ति विवरण, ४४ अर्ब २८ करोड ७७ लाखसहित गृहमन्त्रालय सबैभन्दा धनी मन्त्रालय कहलियो ।
६. रविको पार्टीमा लफडा : राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाही गर्न जिल्ला सदस्यहरुको माग, कारबाही नभए पार्टीबाट सामुहिक राजीनामा दिने धम्की ।
७. पौडेलका कुरा : अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई, सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको दाबी ।
८. बल्ल पक्राउ परे : बैतडीमा २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गर्ने सशस्त्र प्रहरीका जवान भरत कोली महेन्द्रनगरबाट पक्राउ, भारत भाग्ने प्रयासमा रहेका उनलाई बैतडी पठाइयो ।
९. विदेशी भूमिमा गयो ज्यान : मलेसियामा सुरक्षा गार्डका रुपमा कार्यरत दुई नेपाली मृत भेटिए, अर्का एक जना नेपाली पक्राउ ।
१०. मूल्य समायोजनको माग : पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग गर्दै नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले गर्यो नेपाल आयल निगमअगाडि विरोध प्रदर्शन, समायोजन नगरे थप बिरोधका कार्यक्रम अघि सार्ने चेतावनी ।
११. मल जगेडा छ : करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पशुपंक्षी विकास मन्त्रालयको दाबी, १ हजार सात सय ६४ मेट्रिक टन युरिया, १९ हजार दुई सय ८६ मेट्रिक टन डीएपी र एक हजार नौ सय ३२ मेट्रिक टन पोटास रासायनिक मल मौज्दात ।
१२. कोरोना कहर : दार्चुलास्थित सीमामा नेपाली र भारतीय बीच ढुंगा हानाहान, तनाव बढेपछि सीमाना नै बन्द ।
१३. पर्यटकका लागि विशेष बस : सम्पदा क्षेत्र अवलोकन गर्न आउने पर्यटकका लागि सहज बनाउन काठमाडौं उपत्यकामा ‘विशेष बस’ सञ्चालन गरिने, पहिलो चरणमा पाँच वटा विजुली बस सञ्चालनमा ल्याइँदै ।
१४. मृत्युदण्डको सजाय : देशविरुद्व जासुसी गरेको आरोप लगाउँदै इजरायलमा ४ जनालाई मृत्युदण्ड, ३ जनालाई तोकियो लामो समयको कारावास सजाय ।
१५. हरायो अष्ट्रेलियाले : घरेलु मैदानमा अष्ट्रेलियाले पहिलो टेष्ट क्रिकेटमा वेस्टइन्डिजलाई १ सय ६४ रनले हरायो, दोस्रो टेस्ट खेल ८ डिसेम्बरदेखि एडिलेड ओभलमा सुरु हुने ।















प्रतिक्रिया