१ कार्तिक २०८३, आइतबार

दोलखा अपडेट : गंगा कार्कीको अग्रता कायमै, प्रदेश सभा २ मा केसी र लामाबीच रोचक प्रतिस्पर्धा

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १७ मंसिर । मतगणना भइरहेको दोलखामा प्रतिनिधि सभा सदस्यमा गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार गंगा कार्कीले आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार कार्कीले ११ हजार २२० मत प्राप्त गरी एमालेका उम्मेदवार बालकृष्ण शिबाकोटीसँगको अग्रता कायम राखेका हुन् । शिबाकोटीले अहिलेसम्म १० हजार ३११ मत प्राप्त गरी कार्कीलाई पछ्याइरहेका छन् ।

प्रतिनिधि सभातर्फ हालसम्म २४ हजार ४९२ मत गणना हुँदा शिबाकोटी ९०९ मतले पछाडि छन् । यद्यपि उनले कार्कीसँगको मतान्तर निरन्तर घटाउँदै लगेका छन् । यसअघि कार्की र शिबाकोटीबीचको मतान्तर करिब दुई हजार मतको हाराहारीमा थियो ।

यस्तै प्रदेश सभा १ मा २१ हजार ५२ मत गणना भइसक्दा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्लेले १० हजार १७३ मत ल्याएर अग्रता बनाइरहेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठले ८ हजार ३८० मत ल्याएर काफ्लेलाई पछ्याइरहेका छन् ।

यस्तै, प्रदेश सभा २ मा २५ हजार ५४७ मत गणना भइसक्दा नेकपा एमालेका भरतबहादुर केसीले ११ हजार ४९१ मत ल्याएर अग्रता बनाइरहेका छन् भने कांग्रेसका उम्मेदवार बर्मा लामाले ११ हजार ४३९ मतका साथ केसीलाई पछ्याइरहेका छन् ।

केसी र लामाबीच सुरुवातदेखि नै झिनो मतान्तरले रोचक प्रतिस्पर्धा भइरहेको छ ।

दोलखामा ८५ हजार ३८८ मत खसेको छ ।