
लमजुङ, ११ मंसिर । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सातौं प्रयासमा तेस्रो पटक संसद प्रवेश गर्दैछन् ।
लमजुङ प्रतिनिधिसभा सदस्य निर्वाचनको गएराति सम्पन्न मतगणनामा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार देवप्रसाद गुरुङलाई ३ हजार १८८ मत अन्तरले पराजित गर्दै विजयी बन्न सफल भएसँगै गुरुङ तेस्रो पटक संसद प्रवेश गर्ने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार विजयी गुरुङले ३४ हजार ९६९ मत प्राप्त गरेका छन् भने पराजित गुरुङले ३१ हजार ७८१ मत पाए । कुल १ लाख ३३ हजार ५५९ जना मतदाता रहेकामध्ये ८० हजार १९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ मा एमालेसँग नेकपा (माओवादी केन्द्र) को तालमेल रहेको थियो । त्यस बेलामा पृथ्वीसुब्बा लमजुङ प्रदेश ‘ख’ बाट उम्मेदवार र देवप्रसाद लमजुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बन्दै दुवै जनाले जित हासिल गरेका थिए । जितपछि पृथ्वीसुब्बा गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने भने देवप्रसाद सांसदमा मात्रै सीमित रहे ।
त्यस बेलामा सँगै एक अर्काको सहयोगी बनेर कांग्रेसविरुद्ध उभिए पनि यसपटक भने माओवादी केन्द्र कांग्रेसलगायत गठबन्धनसँग मिलेर एमालेविरुद्ध नै प्रतिस्पर्धामा उत्रिएको थियो । जिल्लामा यी दुई कम्युनिष्ट नेताबीच पहिलो पटक प्रतिस्पर्धा भएको हो । विजयी भएका एमाले नेता पृथ्वीसुब्बा २०६४ सालमा तत्कालीन लमजुङ क्षेत्र नं. २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई ६ हजार मतान्तरले हराउँदै विजयी बनेका थिए ।
२०४८, २०५१, २०५६ र २०७० मा भएको निर्वाचनमा भने गुरुङले पराजय व्यहोर्नुपरेको थियो ।
तत्कालीन गिलुङ गाविस ८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका वडा नं. ९ गिलुङमा २०१४ गंगाप्रसाद र चिनी गुरुङको सन्तानका रूपमा जन्मिएका थिए । उनको राजनीतिक यात्रा २०२७ मा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटारमा अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव निवार्चित भएसँगै सुरू भएको हो ।
उनलेसक्रिय राजनीति भने पञ्चायतकालमा २०३४ देखि गरेका हुन् । विज्ञान विषयमा स्नातक गरेका गुरुङ सुरूमा शिक्षण पेशामा समेत आवद्ध भएका थिए ।
वि.स. २०४० मंसिरमा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा निवार्चित भएको पृथ्वीसुब्बा शिक्षण पेसामै रहँदा परिवर्तनको विभिन्न आन्दोलनमा उत्रिएका थिए । त्यसबेला उनले पटक–पटक प्रहरी हिरासतमा समेत बस्नुपरेको थियो ।
पार्टीको विभिन्न पदमा निर्वाचित हुँदै अगाडि बढेका उनी एमालेको दशौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भए । त्यसअघि उनी पार्टीको सचिव थिए ।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि उनको अबको प्राथमिकता जिल्लाको आवश्यकता अनुसार विकासका पूर्वाधार अघि बढाउने, संघीयतालाई पूर्ण रूपमा कार्यान्वयन गराउन पहल गर्ने, सासदले संसदमा खेल्नुपर्ने भूमिकाबाट पछि नहट्ने र देश समृद्धितर्फ अघि लैजाने रहेको छ ।
बाम शक्तिबीच एकता गर्नका लागि सक्रिय भूमिका खेल्ने उनको भनाइ छ । गुरुङले सुरुदेखि नै बाम शक्तिबीच एकता हुनुपर्नेमा जोड दिदै आएका छन् ।















प्रतिक्रिया