
काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पार्टीहरूको लोकप्रिय मत वृद्धि अस्वाभाविक रहेको बताएका छन् ।
सुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतवृद्धि अस्वाभाविक देखिएको भन्दै उनले पार्टीका तर्फबाट गणनास्थलमा रहेका प्रतिनिधिहरूलाई चनाखो रहन निर्देशन दिएका छन् ।
गठबन्धनभित्रका केही दलको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्ने अवस्था बनेपछि एउटा पार्टीलाई आएको मत अर्को पार्टीमा जोडेर मत पुर्याउने गलत काम हुनसक्ने ओलीको आशंका छ । ‘समानुपातिक मतगणना भइरहेको छ । सुरूदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मतवृद्धि अस्वाभाविक देखिन्छ,’ ओलीले भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गÞलत कार्य पनि हुनसक्छ । जिल्ला जिल्लामा मतगणनामा रहनुभएका साथीहरू चनाखो रहनुहोस् ।’
ओलीले मतगणनामा प्रतिनिधि रहेकाहरूलाई मतपरिणामको मुचुल्काको प्रति आफ्नो फेसबुक म्यासेञ्जरमा पठाउन समेत अनुरोध गरेका छन् । ‘मतगणनामा प्रतिनिधि रहनुभएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनुहुन अनुरोध गर्दछु,’ ओलीले भनेका छन् ।















प्रतिक्रिया