विराटनगर, २९ वैशाख । नियमकानुनको धज्जी उडाउँदै मधेसी जनअधिकार फोरमा नेपालका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रको विवाह आतिसबाजीसहित तडकभडकका साथ गरेका छन् । भूकम्पले देश महासंकटमा फसेको बेला उनले जन्ती भड्किलो बनाउन भारतबाट एक सय स्कोर्पियो र एक सयजति बोलेरो गाडी भाडामा झिकाए ।
पूर्वउपप्रधानमन्त्री यादवले आइतबार सप्तरी बथनाह–१ का शशिकुमार र शोभा यादवकी छोरी मनीषालाई बुहारीका रुपमा भित्र्याएका हुन् । विराटनगर–१२ हाटखोलास्थित दधिराम कम्पेल्कसको ‘फन एन्ड फुड भिलेज रिसोर्ट’ मा विवाह भएको हो ।
फूल र मखमलले आकर्षक ढंगले सजाइएको विवाहमण्डपमा अध्यक्ष यादवका छोराको स्वयम्बर सम्पन्न भयो । सबैखाले खानपान र बेभरेज रहेको विवाहभोज रिसोर्टभित्र बिहान ३ बजेसम्म चल्यो ।
विराटनगर–१८ स्थित घरबाटै अध्यक्ष यादव गाडीहरुको लावालस्कर र आतिसबाजी गर्दै रिसोर्टमा छोराको जन्ती लिएर गएका थिए । जन्ती जाँदा विराटनगरमा ट्राफिक जाम भयो, बाटो खुलाउन प्रहरीलाई हम्मेहम्मे पर्यो । यादवका सयौं नेपाली र भारतीय आफन्त जन्तीमा सहभागी भएका थिए ।
प्रशासनले दसैँ, तिहार र छठ पर्वका बेलामा समेत पटका पड्काउन र आतिसबाजी गर्न रोक लगाएको छ । तर, अध्यक्ष यादव लाखौंको पटका पड्काउँदै छोराको जन्ती लिएर गए । स्थानीय वासिन्दाले ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्दै आक्रोश पोखेका थिए ।
विवाह हुने रिसोर्टभित्र मात्रै नभएर बाहिरसम्म पनि तामझामसहित सजावट गरिएको थियो । लामो समयसम्म ठूला पटका पड्कदा स्थानीय बासिन्दा ‘गोली र बम पड्कियो’ भन्दै आतंकित बनेका थिए । धेरै मानिसले घर बाहिर निस्केपछि मात्रै विवाहमा पटका पड्काएको चाल पाएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।















प्रतिक्रिया