२ कार्तिक २०८३, सोमबार

मायाप्रेम एउटासँग, विवाह अर्काेसँग… !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marriage in nepalरौतहट, २९ वैशाख ।   बाजागाजासहित जन्ती लिएर बेहुलीको घर पुगेका एकजना बेहुला प्रहरी चौकी पुगेका छन्। रौतहटको प्रेमपुर गोनाही ६ बाट २२ वर्षीय ललन कुमार भगत माली परम्परागत वैवाहिक संस्कारअनुसार रौतहटकै वरियारपुर गाविस ६ चिलमिलिया टोलमा जन्ती लिएर विवाहको लागि आइतवार राती ९ बजे पुगेका थिए।
 बेहुलीको घरमा पुगेपछि भएको विवादका कारण पिता बिगु भगत मालीसहित बेहुलाको बास वरियारपुर प्रहरी चौकीमा हुन पुगेको थियो।
डेढ लाख नगद र थप जिन्सी सामान दाइँजोको लागि तय भएर सबै प्रक्रिया पूरा गरी जन्ती लिएर माली बेहुलीको घर पुगेका थिए। तर बेहुली पक्षले बेहुलाको पुरानो प्रेमसम्बन्धको कुरा थाहा पाएपछि बिहे गर्न अस्वीकार गर्दै दाइँजो फिर्ता गर्न दबाब दिँदा दुई पक्षबीच झडप भएको थियो। झडप भएपछि जन्ती पक्षको भागाभाग भएको थियो।
घटना लगत्तै प्रहरी चौकी वरियारपुरका इन्चार्ज मुनमुन सिंहको टोली घटनास्थल पुगेर बेहुला ललन कुमार भगत माली, बेहुलाका पिता बिगु भगत माली, काका रामबाबु माली र आफन्त अनिल मालीसहित बेहुला चढेर आएको भारतीय नम्बर प्लेटको बोलेरोका चालक वीरेन्द्र यादवलाई उद्धार गरी प्रहरी चौकी ल्याएको थियो। बेहुली पक्षले विवाहमा लागेको खर्च र दाइँजोमा तिरेको नगद तथा जिन्सी फिर्ताको माग राखेका छन्।
रातभरि प्रहरी चौकीमा रहेका बेहुला पक्षले सोमवार साँझ वेहुली पक्षलाइ जेठ ८ गतेका दिन एक लाख वीस हजार नगद रुपैयाँ तिर्ने दुवै पक्षबीच सहमति भएपछि वेहुला पक्ष थुनामुक्त भएको प्रहरी चौकी बरियारपुरका असइ मुनमुन सिंहले बताएका छन्।
विवाहमा वेहुला पक्षको पनि पैसा खर्च भएकोले दुवै पक्षविच प्रहरी चौकी वरियारपुरमा भएको छलफलमा दाइजो वापतको रकम मध्ये एक लाख २० हजार फिर्ता गर्ने र विवाह नगर्ने सहमति पछि वेहुला जन्ती सहित घरफर्केका छन। विवाह नै नभएर बेहुला फिर्ता हुनु परेको नौलो घटना हेर्न र बेहुला तथा बेहुली पक्ष दुवैका आफन्त गरी चौकीमा निकै ठूलो भीड समेत लागेको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।