सोल, २८ वैशाख । उत्तर कोरियाले हालै विकास गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र पनडुब्बीबाट सफल प्रक्षेपण गरेकोमा दक्षिण कोरियाले गम्भीर रुपमा चासो व्यक्त गरेको समाचार छ ।
दक्षिण कोरियाले यसप्रति गम्भीर चासो एवम् दुःख व्यक्त गरेको सो समाचारमा जनाइएको छ । उत्तर कोरियाले शनिबार सो क्षेप्यास्त्र परीक्षण गरेको हो । यस मुलुकले आफ्नो सैनिक क्षमताको पछिल्लो प्रदर्शनका रुपमा यस क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ ।
दक्षिण कोरियाको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता किम मिन सिकले भन्नुभएको छ– हाम्रो सैनिक उत्तर कोरियाले गरेको भनेको सो क्षेप्यास्त्र परीक्षणबाट गम्भीर रुपमा चिन्तित र दुःखी बनेको छ ।
नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता सिकले सो भनाई सोमबार राख्नुभएको हो । सोमबार राजधानी सोलमा आयोजित सो नियमित पत्रकार सम्मेलनका क्रममा उहाँले उत्तर कोरियाले गरेको यस परीक्षणबाट उत्तरपूर्वी एसिया र कोरियाली प्रायद्वीपमा नराम्रो असर पार्ने बताउनुभयो ।
दक्षिण कोरियाली अधिकारीहरूले यसअघि उत्तर कोरियाले पानीमुनिबाट ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गर्ने प्रविधि विकास गरिरहेको जानकारी दिएका थिए ।
यसअघि पनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको थियो तर पनडुब्बीबाट नभई भूमि वा पानीको माथिल्लो सतहबाट क्षेप्यास्त्र प्रक्षेपण गरेको विश्वास गरिएको थियो ।
विश्वका कतिपय नेताहरुले उत्तर कोरियासँग भूमिमा आधारित ब्यालेस्टिक क्षेप्यास्त्रका पर्याप्त भण्डार रहेको विश्वास गर्छन् र उसले यस्ता क्षेप्यास्त्रमा पारमाणविक क्षमता कायम गर्ने प्रयास गरिरहेको पनि बताइनछ ।
उहाँले यो परीक्षणसँगै उत्तरले दक्षिण कोरियाको सामुद्रिक क्रियाकलापहरुमा पनि निगरानी बढाउन सक्ने वा गुप्तचरका रुपमा काम गर्नसक्ने चिन्ता पनि व्यक्त गर्नुभएको बताइएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले व्यक्तिगत रूपमा उक्त क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गर्न आदेश दिनुभएको र उहाँले त्यसलाई विश्वस्तरको रणनीतिक हतियारको रूपमा लिनुभएको बताइएको छ । रासस÷एपी















प्रतिक्रिया