
काठमाडौं, १ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते निर्वाचन मात्रै नभएर देश बिगार्ने र बनाउनेबीचको जनमत संग्रह भएको बताएका छन् ।
काठमाडौंको बसुन्धारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पोखरेले मंसिर ४ गतेको निर्वाचन देश बनाउनेले जित्ने कि देशलाई बर्वाद बनाउने भन्ने दुई पक्षबीचको लडाइँको दिन भएको बताएका हुन् ।
अहिलेको सत्ता गठबन्धन देशको लागि खलनायक भएको भन्दै पोखरेलले मंसिर ४ को निर्वाचनबाट एमालेलाई विश्वासको मत दिनेमा आफू विश्वस्त रहेको विश्वास व्यक्त गरे ।
अहिले देशलाई राजनीतिक स्थायीत्व आवश्यक रहेको बताउँदै पोखरेलले मुलुकमा अब पनि स्थायीत्व कायम हुन नसके देश बर्वाद हुने जिकिर गरे । अहिले देशमा बलियो पार्टी एमाले मात्रै रहेको भन्दै एमाले बाहेक अन्य पार्टीले देशमा स्थायीत्व कायम, विकास गर्न नसक्ने ठोकुवा गरे ।
भारतले नेपालमा नाकाबन्दी गर्दा अन्य पार्टी एक शब्द पनि बोल्न नसकेको अवस्थामा नेकपा एमालेले नाकाबन्दीको विरोध गरेको बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले सरकारले नै चीनसँग पारवहन सम्झौता गरेर नेपालमाथि भारतले कहिलै नाकाबन्दी लगाउन नसक्ने बनाइदिएको दाबी गरे ।
चुनावी सभालाई सम्बोधन गर्दै पोखरेलले क्षेत्र नम्बर ५ मा मनमोहन अधिकारीको नामा प्राविधि शिक्षालय स्थापना गरेर अध्ययनका लागि वातावरण सृजना गरिने प्रतिबद्वता जनाए ।
यस्तै, सार्वजनिक जग्गाहरु फिर्ता ल्याउने, सुकम्वासीहरुको व्यवस्थीत बसोबासको प्रबन्ध गर्ने, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण सम्बर्दनका लागि योजना ल्याउने पोखरेलले बताए ।













प्रतिक्रिया