१ कार्तिक २०८३, आइतबार

एमालेको घोषणापत्रमा देश विकासको सम्पूर्ण खाका छ : केपी ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको घोषणापत्रमा देश विकासको सम्पूर्ण खाका रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. १ को धुलाबारीमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकासको सम्पूर्ण खाका रहेको एमालेलाई जनताले सुदृढ सरकार गठन गरी कार्यान्वयन गर्ने अवसर दिने विश्वास पनि व्यक्त गरेका छन् । उनले एमालेको घोषणापत्रका २० ग्यारेण्टीमा केवल २० वटा कुरा नभएर नेपालको विकासको सम्पूर्ण खाकाका साथै नेपाली जनताका सरोकारका सबै विषय समेटिएको स्पष्ट पारेका छन् ।

अध्यक्ष ओलीले त्यसमा नागरिकताको विषय उच्च प्राथमिकतामा राखिएको बताउँदै गठबन्धन सरकारले विदेशीलाई छिटो छिटो नागरिकता दिन चाहेकाले विधेयकमा विवाद सृर्जना भएको स्पष्ट गर्दै ओलीले भने, ‘एमालेको सरकार गठनपछि एक महिनामा नागरिकतासम्बन्धी ऐन बनाइने छ र जन्मसिद्ध नागरिकका सन्तानलाई बंशजको नागरिकता दिइने छ, सबै नेपालीलाई नागरिकता दिइने छ ।’

कतैबाट पनि राष्ट्रियतामा खतरा पार्ने काम हुन्छ भने त्यसवेला राष्ट्रपतिले राष्ट्रियताको पक्षमा अडान लिनुपर्छ भन्दै अध्यक्ष ओलीले नागरिकता विधेयकमा राष्ट्रपतिको अडानको प्रशंसा गरे । उनले विदेशीलाई नागरिकता दिंदा नेपाल जस्तो सानो देश सङ्कटमा पर्ने पनि बताएका छन् ।

अध्यक्ष ओलीले एमालेको बहुमतको सरकार गठनका लागि झापा निर्वाचन क्षेत्र नं.१ बाट पनि एमाले उम्मेदवारलाई विजयी बनाई पठाउन मतदातालाई आग्रह गरेका छन् । उनले आफूलाई संसदबाट हटाउन नसकेपछि अदालत गुहारी परमादेश जारी गराएको स्पष्ट गर्दै अखडा (संसद) मा नसकेपछि बाटोमा हिँड्दा पछाडिबाट हानेको बताए । एमाले र माओवादीको एकता हुँदा आफूले दिएको बहुमत प्रचण्डले दुरुपयोग गर्ने हुँदा एकता भङ्ग भएको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले वर्तमान गठबन्धनका तीन सहयात्री नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीको कुनै जनमत नभएको उल्लेख गर्दै गठबन्धन शेरबहादुर देउवा र प्रचण्डको मितेरी साइनो मात्र भएको र त्यहाँ पनि बेइमानी र छलछाम रहेको बताए ।