
उदयपुर, १ मंसिर । नेकपा (एमाले) उदयपुरले क्षेत्र नम्बर २ को कटारी बजारमा शक्ति प्रर्दशन गरेको छ ।
कटारीको मुख्य बजारमा तीन हजार सर्वसाधरणको उपस्थितिमा एमालेले घरदैलो अभियान गर्दै शक्ति प्रर्दशन गरेको हो ।
प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा भएका चुनावी कार्यक्रमअन्तर्गतको घरदैलोमा निस्किएको र्याली यो अहिले सम्मकै ठूलो रहेको बजारबासीले बताएका छन् । यसअघि लोकतान्त्रिक–वाम गठबन्धनले बजार क्षेत्रमा तीन सय जनाको उपस्थितिमा र्याली प्रर्दशन गरेको उनीहरूको भनाइ छ ।
गठबन्धन कमजोर बन्दै गर्दा एमालेले कटारी बजारमा शक्तिप्रर्दशन गरेको हो । कटारी नगरपालिका क्षेत्र कमजोर बन्दै गएपछि गठबन्धनका उमेदवार गाउँपालिका केन्द्रित रहेर चुनावी अभियानमा जुटेका छन् ।
घरदैलोपछि आयोजित कोणसभामा एमालेका प्रदेश कमिटी उपसचिव शैलेश लामा, सचिवालय सदस्य बेदप्रसाद पोखरेल, प्रतिनिधिसभाका उम्मेदवार अम्बरबहादुर रायामाझी, जिल्ला कमिटीका उपाध्यक्ष तथा पूर्वमेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रदेशसभा २ का उम्मेदवार जिवनाथ दाहालले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कोणसभामा आफ्नो प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार अम्बरबहादुर रायामाझीले कटारी बजारको आधुनिकीकरण र सहरीकरण, उदयश्री वहुमुखी क्याम्पसको स्तरोन्नति, चुनढुंगा ओसारपसारका लागि वैकल्पिक सडक निर्माणलगायत काममा जोड दिने बताए । भौगोलिक विकटता रहेको आफ्नो निर्वाचन क्षेत्रका जनताका आधारभूत समस्या खानेपानी, बिजुली बत्ती, सडक, सिंचाई, तटबाँध, कृषि क्षेत्रको यान्त्रिकीकरण, बजारीकरण, युवा रोजगारका लागि प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।
‘आफू यही भूगोलमा जन्मिएको, हुर्किएको र माध्यमिक तहसम्मको शिक्षा यहीँबाट लिएकाले मलाई यहाँको हावापानी, जनताका आधारभूत समस्या सबै थाहा छ,’ उनले भने, ‘म राजकीय पदमा नपुग्दा मैले मेरा क्षेत्रमा गरेका विकास निर्माणका काम र योगदान एक पटक हेरिदिनुस् ।’ रौता जनता क्याम्पस स्थापनादेखि त्यसलाई सुविधासम्पन्न बनाउन, विद्यालयका भवन निर्माण, स्वास्थ्यचौकी, प्रहरी चौकीलाई जग्गादान, मठमन्दिर निर्माण, अशक्त, असहायको उपचारको व्यवस्था, युवा रोजगारमा आफूले पुर्याएको योगदान र विगतमा सांसद जितेर गएका व्यक्तिहरूले गरेका कामको मुल्यांकन गरिदिन उनले मतदातासमक्ष आग्रह गरेका छन् ।
















प्रतिक्रिया