
ललितपुर, २८ कात्तिक । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति वर्ष, महिना हुँदै केही दिन मात्रै बाँकी हुँदा ललितपुरको क्षेत्र नम्वर १ एमालेमय बनेको छ ।
एमालेका निर्वाचन केन्द्रीत कार्यक्रममा विशाल जनसहभागिता रहेको छ भने सबै क्षेत्रमा दैनिक रूपमा पार्टी प्रवेशको लहर छाएको छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवाल, प्रदेशसभा उम्मेदवार १ मा मधुसुधन पौडेल र २ मा चेतनाथ सञ्जेल छन् ।
सिलवाल र सञ्जेल गत निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनीहरूले संसद्मा विगत पाँच वर्षमा यहाँका जनप्रतिनिधि भएर सशक्त रूपमा उठाउनुभएको आवाज, नीति निर्माणमा देखाएको सक्रियता र विकास निर्माणका काम यहाँका नागरिकले नजिकबाट नियालेका छन् । नागरिकमाझ इमान्दार नेताका रूपमा स्थापित पौडेल यस क्षेत्रका मतदाताको नजरमा लोकप्रिय छन् ।
भूगोलका हिसाबले दुर्गम र क्षेत्रफलका हिसाबले जिल्लामा सबैभन्दा ठूलो क्षेत्रका रूपमा क्षेत्र नम्वर १ रहेको छ । उम्मेदवारहरूले आआफ्नो घोषणापत्रमा र नागरिकको घरघरमा पुगेर आफू बिजयी हुँदा पूर्वाधार निर्माणमा ध्यान दिने र सामाजिक सुधार गर्ने र सांस्कृतिक संरक्षण गर्ने बताएका छन् ।
प्रतिनिधिसभा उम्मेदवार सिल्वाल विद्यार्थीको रूपमा आफू पाँच वर्ष संसदरूपी विश्वविद्यालयमा पढेको र अहिले निर्वाचनमार्फत जाँच दिन लागेको बताए । हिजो विद्यार्थी भएर संसद छिरेको र अब प्रोफेसर भएर जाने उनले बताए ।
यो पाँचमा वर्ष आफूले जनताका सरोकारका विषय, जनजीबिकाका विषय, क्षेत्रीय सम्बन्ध, राष्ट्रिय र अन्तराष्ट्रिय सरोकार उठाएको र ललितपुरका जनताका आवाज बोलेको बताए । ‘मैले बिगत पाँच वर्षमा गरेको काम नै मैले जित्ने आधार हो,’ उनले भने ।
प्रदेशसभामा १ का उम्मेदवार मधुसुधन पौडेलले आफू उम्मेदवार भएको क्षेत्रमा नगर र ग्रमीण क्षेत्र दुबै रहेको र त्यहाँका आवश्यकता फरक फरक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । आफू बिजयी भएर महाङ्काल र कोञ्जेसोम क्षेत्रमा सडक, पानी, विद्यालय व्यवस्थित गर्न लाग्ने र नगर क्षेत्रमा बस्ती व्यवस्थित र आधुनिक बनाउन लाग्ने उनको प्रतिबद्धता छ ।
प्रदेशसभामा ललितपुर २ का उम्मेदवार चेतनाथ सञ्जेलले आफ्नो पहलमा गत पाँच वर्षमा धेरै पूर्वाधार बन्न शुरु भएको बताए । त्यसलाई सम्पन्न गर्नेसँगै यस क्षेत्रमा नयाँनयाँ योजना ल्याउन लाग्ने उनको प्रतिबद्धता छ ।















प्रतिक्रिया