काठमाडौँ, २८ वैशाख । भूकम्पमा परेर अभिभावक गुमाएका टुहुरा बालबालिकालाई पतञ्जली योग समिति नेपालले निःशुल्क पठनपाठन गराउने भएको छ । भूकम्पमा परेर आमाबाबु वा हेरचाह गर्दै आएका अभिभावक गुमाएका बालबालिकालाई काठमाडौँस्थित गुरुकुलमा राखेर निःशुल्क पढाउन लागिएको हो ।
“पाँच सयभन्दा बढी बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढाउने तयारी गरेका छाँै, हालसम्म सिन्धुपाल्चोकबाट मात्रै त्यस्ता सात बालिकासहित १६ बालबालिका आइसकेका छन्,” समितिका संरक्षक इञ्जिनियर शालिग्राम सिंहले भन्नुभयो । त्यस्ता टुहुरा बालबालिकालाई खाना, पोशाक र पठनपाठनको सुविधा हुनेछ ।
पतञ्जली योग समितिले भूकम्प प्रभावित १२ जिल्लाका ३५ ठाउँमा पीडितलाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । त्यसका लागि समितिले चामल, दाल, नुन, तेल, आलु, फलफूललगायतका सामग्री उपलब्ध गराउँदै आएको छ । समितिले भूकम्प प्रभावित ४० हजार परिवारलाई त्रिपालको व्यवस्था गर्ने सोचअनुरुप तीन हजार थान वितरण गरिसकेको छ ।
पछिल्लो समयमा त्रिपालभन्दा घर निर्माणका लागि सहज हुने भएकाले जस्ता पाता दिनेबारेमा छलफल भइरहेको पनि संरक्षक सिंहले बताउनुभयो । भूकम्प गएपछि राजधानीका ग्राण्डी, वीर, शिक्षण अस्पताललगायतका ठाउँमा औषधि र उपकरण पनि समितिले उपलब्ध गराएको छ ।
देशका ७५ जिल्लाका झन्डै ३५ हजार योग प्रशिक्षकमार्फत समितिले वार्षिक लाखाँै व्यक्तिलाई योग प्रशिक्षण दिँदै आएको प्रशिक्षण अभियानका केन्द्रीय प्रमुख लवदेव मिश्रले जानकारी दिनुभयो । भूकम्पले सिर्जना गरेको त्रास र तनावले मानिसमा चिन्ता बढ्ने भएकाले योगका माध्यमबाट त्यसलाई हटाउन पनि राहत वितरणका साथै योग प्रशिक्षण अभियानलाई पनि सँगसँगै लगिएको समितिले जनाएको छ ।
“त्रासका कारण तनाव बढाउँछ, योगले मानसिक डर हटाएर तनाव कम गराउँछ,” मिश्रले भन्नुभयो । मिश्रका अनुसार योग गर्दा शरीरमा दशगुणा अक्सिजन बढ्ने भएकाले पनि शरीरमा फूर्ति आउने बताउनुहुन्छ । समितिले विभिन्न सङ्घसंस्थाको आग्रहमा आफ्ना योग प्रशिक्षकमार्फत योग शिविर चलाउँदै आएको छ ।
हालसम्म दुई हजार ५०० क्विन्टल चामल, तीन हजार त्रिपाललगायतका विभिन्न सामग्री वितरण गरिसकेको समितिले दिने राहत सामग्री हरिद्वार, गोर्खाल्याण्ड, हाम्रो स्वाभिमानसहितका भारतमा रहेको समितिमार्फत आउने गरेको छ । रासस















प्रतिक्रिया