५ कार्तिक २०८३, बिहिबार

भूकम्पबाट ऐतिहासिक ढुम्बाताल फुट्ने सम्भावना, रोक्न पूजापाठ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhumba_talमुस्ताङ, २८ वैशाख । मुस्ताङ सदरमुकाम जोमसोम–९ मा अवस्थित ऐतिहासिक ढुम्बाताल फुट्ने खतरा बढेपछि स्थानीय लामाहरुले पूजापाठ गरेका छन् ।

वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण ताल वरिपरि जमिन भास्सिएको र तालमा विभिन्न स्थानमा चिरा परेको छ । वर्षौं पुरानो ताल एक्कासि फुट्ने खतरा बढेपछि ताल नजिकै रहेका गुम्बामा बस्ने लामाहरुले शनिबार र आइतबार ताल वरपर पूजापाठ गरेका हुन् ।

करिब दुईसय वर्ष पुरानो तालमा भूकम्पपछि निरन्तर पानीको सतह घटिरहेको छ । पानीको सतह घट्ने र भ्वाङ पर्ने भएपछि लामाहरुले धार्मिक विधिअनुसार पूजापाठ गरेको ताल संरक्षण समितिका अध्यक्ष पहलडिवी थकालीले जानकारी दिनुभयो । “ताल फुट्ने डरले हामीलाई चिन्तित बनाएको छ, पूजा गरेमा तालमा पानी घट्ने क्रम रोकिन्छ कि भनेर पूजापाठ गरेका हौँ,” उहाँले भन्नुभयो ।

ताल वरपर परेको चिरा र पानीको सतह घट्ने क्रमबाट सबैभन्दा बढी त्यसवरपरका स्थानीयवासी चिन्तित बनेका छन् । अहिले ताल वरपरका सर्वसाधारण घर छोडेर अन्यत्र बास बस्न थालेका छन् ।

“यसरी पानीको सतह कहिल्यै घटेको थिएन, ताल फुट्लाजस्तो देखिन्छ, अध्यक्ष थकालीले भन्नुभयो – “धार्मिक विधिअनुसार तालमा रहेका देवतालाई खुसी पारेपछि ताल रहन्छ भन्ने विश्वास छ ।” जोमसोम पुग्ने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक उक्त तालको अवलोकनका लागि पुग्ने गर्छन् ।

तालमा पानीको सतह घटे पनि अहिले तत्काललाई खतरा टरेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो । “हामी सबै त्यहाँ गएर अनुगमन गरेका छौँ, सुरुमा केही खतरा रहे पनि अब त्यस्तो छैन, सर्वसाधारण नडराए हुन्छ” – उहाँले भन्नुभयो । रासस