काठमाडौँ, २८ वैशाख । नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा पुर्याएको क्षतिको पुनःस्थापना र पुनःनिर्माणका लागि जापान सरकारले हरसम्भव सहयोग गर्ने बताउनुभएको छ ।
राजधानीको चाबहिल चुच्चेपाटीमा जापानी सेनाद्वारा स्थापित स्वास्थ्य शिविरको आज निरीक्षणका क्रममा रासससँग कुरा गर्दै राजदूत ओगावाले भन्नुभयो, “हामी यस विपत्तिलाई सामना गर्ने क्रममा नेपालको महत्वपूर्ण साझेदार बन्न र त्यहीअनुसारको भूमिका निर्वाह गर्न तयार छौं ।”
उहाँले भूकम्पबाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि समय र स्रोतसाधन दुवै अत्यावश्यक रहेको बताउँदै जापान सरकारले आफ्नो विज्ञता र दक्षता दुवै प्रयोग गरी नेपाललाई सक्दो सहयोग गर्नेछ भन्नुभयो ।
राजदूत ओगावाले नेपाल सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा विपद्पछिको आवश्यकता मूल्याङ्कनको कार्य गरिरहेकाले त्यसको नतिजाका आधारमा सहयोगको स्वरुप निर्धारण हुने स्पष्ट गर्नुभयो ।
जापानी विशेषज्ञका अनुसार नेपालमा हरेक दुई÷तीन दशकमा ठूलै भूकम्प गइरहने पूर्वानुमान गरिरहेकाले त्यही अनुरुपको तयारी नेपालले गर्नुपर्ने खाँचो रहेको राजदूत ओगावाले बताउनुभयो ।
उहाँले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै नेपालको यस दुःखमा मद्दत पु¥याउन जापानबाट उद्धार, राहत र औषधि उपचारको कार्यका साथै तात्कालिक आर्थिक सहयोग गरिएको बताउनुभयो ।
उहाँले भूकम्पपछि तत्कालै ७० सदस्यीय जापान विपद् उद्धार टोली नेपाल आएको र सो टोली फिर्ता भइसकेको जानकारी दिँदै हाल जाइकामार्फत ८९ सदस्यीय चिकित्सा टोली र जापानी सेनाको ११५ सदस्यीय चिकित्सा टोली काठमाडौं र सिन्धुपाल्चोकमा क्रियाशील रहेको बताउनुभयो ।
जापानी राजदूतावासका अनुसार जापान सरकारले हालसम्म करिब २० लाख अमेरिकी डलर बराबरको त्रिपाल र ब्ल्यान्केटजस्ता आपत्कालीन राहत सामग्री तथा आपत्कालीन अनुदानस्वरुप एक करोड ४० लाख अमेरिकी डलर नेपाल सरकारलाई उपलब्ध गराएको छ ।
राजधानीको चाबहिल चुच्चेपाटीमा हाल १६१ परिवारका करिब ६०० व्यक्ति त्रिपालको सहारामा रहेका छन् । सो स्थानमा चार दिनदेखि जापानी सेनाको चिकित्सा टोलीले उपचार सेवा उपलब्ध गराइरहेको छ । सो शिविरमा चार जना चिकित्सक, १० जना नर्ससहित २० जनाले दैनिक ५० जनाको उपचार गरिरहेका छन् । रासस















प्रतिक्रिया