
भक्तपुर, २६ कात्तिक । लौरो अभियानका भक्तपुर निर्वाचन क्षेत्र नं. २ (१) का प्रदेश सभा उम्मेदवार उत्तर प्रसाद घिमिरेले सोही क्षेत्रका एमाले उम्मेदवार किरण थापालाई समर्थन गर्ने घोषणा गरेका छन् ।
आज नेकपा एमाले भक्तपुर–२ निर्वाचन परिचालन कमिटीले सूर्यविनायक नगरपालिका–४ दधिकोटमा आयोजना गरेको घरदैलोका क्रममा लौरो अभियानका उम्मेदवार घिमिरेले एमाले उम्मेदवार थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
घिमिरेले थापालाई आफ्नो अभियानको लौरो जनतालाई साक्षी राख्दै थापालाई हस्तान्तरण गरे । हस्तातरणपछि घिमिरे एमालेको घरदैलो अभियानमा सहभागिता जनाई जनतासामु भोट माग्दै जनताको घरदैलोमा पुगेका थिए ।
आफ्नो समर्थन एमाले उम्मेदवार थापालाई रहेको जनाउँदै लौरो अभियानका उम्मेदवार घिमिरेले आफू कुनै लोभलालच, प्रभाव तथा दबाबमा नपरी स्वत:स्फूर्त रूपमा आत्मादेखि नै समर्थन गरेको स्पष्ट पारेका छन् । एमाले उम्मेदवार थापा र आफ्नो अभियानको निश्चित लक्ष्य नै एउटै भएकाले समर्थन गरेको घिमिरेको भनाइ छ ।
एमालेले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनतामा खेलेको भूमिका मुलुकको हितमा रहेको उल्लेख गर्दै घिमिरेले एमालेको अभियानलाई समर्थन गर्नु नै अहिलेका लागि उत्तम उपाय भएकाले सम्पूर्ण लौरो अभियानका समर्थकलाई आगामी निर्वाचनमा एमालेमा मतदान गर्न अपिल गरेका छन् ।
एमाले उम्मेदवार थापाले आफू एमालेको मात्र नभई आम जनताको उम्मेदवार भएकाले लक्ष्य र उद्देश्य मिल्ने सम्पूर्ण राजनीतिक दल, स्वतन्त्र तथा आम सूर्यविनायकवासी जनतालाई सूर्य चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गरे ।
आफू सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत संलग्न रही जनताको सेवामा समर्पित भएको उदाहरण प्रस्तुत गर्दै एमाले पार्टीको टिकटबाट आम सूर्यविनायकवासी जनताको प्रतिनिधित्वका लागि निर्वाचनमा होमिएको उम्मदवार थापाले बताए ।















प्रतिक्रिया