१ कार्तिक २०८३, आइतबार

एमालेका फुयाँल मुस्कानसहित घरदैलोमा, ओनसरीलाई लाग्यो ‘टुरिष्ट’को आरोप

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले प्रचार तीव्र पारेका छन् ।

क्षेत्र नम्बर २ मा काठमाडौं महानगरपालिकाको वडा नम्बर ९ र ३२, कागेश्वरी मनोहरा नगरपालिकाको ४ देखि ९ र शंखरापुर नगपालिकाको सबै (१ देखि ९) वडा पर्दछ । काठमाडौंको कोटेश्वरदेखि शंखरापुरको नाङ्लेभारे पटापसम्म पर्ने काठमाडौं २ मा ८२ हजार ९७० मतदाता छन् ।

यस क्षेत्रमा प्रतिनिधिसभाको लागि नेकपा एमालेबाट मणिराम फुयाल, सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्ती पोखरेल प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दलका २० र अन्य १० उम्मेदवार समेत चुनावी मैदानमा होमिएका छन् ।

२०४८ सालको संसदीय निर्वाचनमा तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई समेत पराजित भएको यो क्षेत्रको निर्वाचनको बेला निकै चासो र चर्चा हुने गरेको छ । तत्कालीन अवस्थामा काठमाडौंमा ५ क्षेत्र हँुदा क्षेत्र नम्बर १ रहेको यस ठाउँलाई एमालेले आफ्नो पकेट क्षेत्र मान्दै आएको छ ।

२०४८ सालको वैशाख २९ गते संसदीय निर्वाचनमा यस क्षेत्रमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले प्रधानमन्त्री भट्टराईलाई ७५१ मत अन्तरले पराजित गरेका थिए । २०५० साल जेठ ३ गते एमाले महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दास ढुंगामा रहस्यमय दुर्घटनामा निधन भएपछि भएको उपनिर्वाचनमा मदनपत्नी विद्या भण्डारीले समेत कांग्रेस सभापति भट्टराईलाई पराजित गरेकी थिइन् ।

यस क्षेत्रमा २०६४ र २०७१ सालको उपनिर्वाचन बाहेक सबै चुनाव एमालेले जित्दै आएको छ । यस क्षेत्रमा स्थानीय निर्वाचनमा समेत २०५४ सालदेखि २०७४ सम्म एमालेले वर्चश्व कायम गरेको थियो ।

पार्टी विभाजन र सत्तारुढ गठबन्धनको कारण २०७९ को स्थानीय निर्वाचनमा भने एमाले विगतको वर्चश्व कायम राख्न सकेन । यद्यपि स्थानीय निर्वाचन अनुसार यस क्षेत्रमा एमाले नै पहिलो पार्टी बनेको छ । एमालेले स्थानीय निर्वाचन परिणाम र आफ्ना लोकप्रिय उम्मेदवारहरूको कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवै जित्ने दाबी गरेको छ ।

एमाले प्रतिनिधिसभा उम्मेदवार फुयाँल अघिल्लो निर्वाचनमा प्रदेशसभामा नेतृत्व गरिसकेका व्यक्ति हुन् । फुयाँल अघिल्लो निर्वाचनमा करिब ८ हजार मत अन्तरसहित प्रदेशसभामा निर्वाचित भएका थिए । विगतमा राजनीतिसँगै शिक्षा क्षेत्रमा क्रियाशील फुयाँल अन्य उम्मेदवारहरूको तुलनामा बौद्धिक, सरल र मिजासिलो स्वाभावका छन् । यही कारण उनी अघिल्लो पटक प्रदेशसभामा शानदार विजयी भएका हुन् ।

पार्टीको बलियो संगठन र फुयाँलको व्यक्तित्व प्रभावको कारण यस क्षेत्र फराकिलो मत अन्तरसहित आफूले जित्ने एमालेको दाबी छ ।

एमाले प्रदेश सभातर्फ १ सानुकुमार श्रेष्ठ र २ मा सुवर्ण श्रेष्ठलाई उठाएको छ । सुवर्ण यसअघि शंखरापुरमा मेयर थिए । जनतामा सजिलै घुलमिल हुने स्वभावका सुवर्ण एमालेको क्षेत्रीय कमिटी अध्यक्ष र जिल्ला कमिटी हुँदै मेयर बनेका हुन् ।

अघिल्लो पटक प्रदेशसभामा नेतृत्व गरेका सानुकुमार बागमती प्रदेशका सभामुख हुन् । काठमाडौं क्षेत्र २ मा यस पटक एमाले र सत्तागठबन्धनबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार उठाउँदा अरु दलको तुलनामा एमालेले जातीय तथा भौगोलिक सन्तुलन समेत मिलाएको देखिन्छ ।

प्रतिनिधिसभाका उम्मेदवार फुयाँल मूलपानीका स्थानीय बासिन्दा हुन् । मूलपानी काठमाडौं क्षेत्र नम्बर २ को मध्य भाग अर्थात् बीच खण्डमा पर्छ । प्रदेश २ का उम्मेदवार सुवर्ण शंखरापुर इन्द्रायणीकी बासिन्दा हुन् । प्रदेश १ का उम्मेदवार सानुकुमार कोटेश्वर नरेफाँटका बासिन्दा हुन् ।

सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी रोल्पाकी हुन् । उनले उम्मेदवार बनेपछि मात्रै काठमाडौं २ मा पाइला टेकेकी हुन् । यही कारण विपक्षीले उनलाई ‘टुरिष्ट’ उम्मेदवारको आरोप समेत लगाउने गरेका छन् । यद्यपि घर्तीले आफू क्षेत्र बाहिरको भए पनि नेपाली कांग्रेसको आडमा चुनाव जित्ने दाबी गरेकी छिन् ।

राप्रपाकी उम्मेदवार पोखरेल काठमाडौं महानगर–९ की बासिन्दा हुन् । पोखरेलले पनि मुलुकमा पछिल्लो पटक राप्रपाको प्रभाव बढ्दै गएको दाबी गर्दै आफू बलियो उम्मेदवार भएको बताएकी छन् ।

मतदाताको घरदैलो पुग्दा अन्य उम्मेदवारको तुलनामा एमालेका फुयाँल हँसिलो र फूर्तिला देखिन्छन् । एमाले उम्मेदवार फुयाँल काठमाडौं क्षेत्र नम्बर २ का सबै ठाउँ आफ्नो लागि आँगन र मतदाता परिवारकै सदस्य जस्तो लाग्ने गरेको बताउँछन् । यही कारण चुनाव आफ्नो लागि कठिन नभएको उनको भनाई छ ।