
काठमाडौं, २४ कात्तिक । मंसिर २३ गते प्रदर्शन हुने सामाजिक महामारीको कथामा निर्माण गरिएको चलचित्र ‘डेसान’ को टिजर सार्वजनिक गरिएको छ ।
राजधानीमा हिजो बुधबार प्रेसमिट गरी दर्शकमाझ ल्याइएको टिजरमा पारिवारिक सम्बन्ध, प्रेममा हुने असमझदारी तथा सामाजिक न्यायको विषयलाई प्रस्तुत गरिएको देखिन्छ ।
कमल एक्चै मगर निर्देशित चलचित्रमा भोला सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारुमगरलगायतको अभिनय छ ।
टिजरमा चलचित्रका सबै प्रमुख कलाकार समेटिएका छन् । निर्देशक कमलले ‘डेसान’ कोरोना महामारी त्रासादी कालमा निकै सकसका साथ छायाँकन गरिएको स्मरण गरे । उनले कोरोनाका कारण सबैतिर अन्यौलको वातावरण भएको बेलामा आफूहरुले जोखिम मोलेर सुटिङ गरेको बताए ।
अभिनेत्री नम्रताले कोरोना कालमा सुटिङ गर्दा कतिपय ठाउँमा असहयोग र असहजता भए तापनि अहिले फिल्म प्रदर्शन हुन लाग्दा भने त्यतिबेलाको दुखपीडा बिर्सिएको बताइन् ।
अभिनेता भोला सापकोटाले पनि कोरोना भाइरसको त्रासले गर्दा ‘डेसान’ को सुटिङका क्रममा दुख खेप्नु परेको सम्झदै अब भने फिल्म रिलिज हुन लागेकोमा खुशी ब्यक्त गरे । निर्देशक मगरले सुटिङमा दुःख पाएको भए तापनि अहिले चलचित्र हेर्दा सबै पीडा भुलेको बताए । ‘दर्शकको लागि निकै दुख गरेर फिल्म बनाएका छौ,’ उनले भने, ‘चलचित्रले पूर्ण मनोरञ्जनका साथै समाजीक सन्देश पनि प्रवाह गरेको छ । त्यसैले आम दर्शकलाई हेर्न आग्रह गर्दछु ।’
पर्फमिङ आर्ट कृएसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो ।
चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको बितरण एफडी, जीजीए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।















प्रतिक्रिया