
काठमाडौं, २१ कात्तिक । नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि एशियाली विकास बैंकले वित्तीय लगानी गर्ने भएको छ ।
लगानीका लागि आज सोमबार नेपाल सरकार र एशियाली विकास बैंकबीच सहमति भएको छ । अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एशियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट करिब रू. सात अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब रू. एक अर्ब ३० करोड अनुदान व्यहोर्ने छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट रू. एक अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिब एक अर्ब ८८ करोड लगानी गर्नेछ ।
सम्झौता कार्यक्रममा अर्थसचिव पुस्करले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको भन्दै बर्षेनी बजेट बढाउदै लगेको जानकारी दिए । सहयोगले नेपालको कृषि क्षेत्रको बिकासका लागि थप मद्दत पुग्ने उनको भनाई छ ।
परियोजनाबाट प्रदेश नं १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा १० हजार हेक्टरमा लगाइने सम्झौतापत्रमा उल्लेख छ ।















प्रतिक्रिया