२ कार्तिक २०८३, सोमबार

सेतोपाटी अनलाइनलाई प्रेस काउन्सिलले काट्यो २४ घण्टे पत्र

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ कात्तिक । प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

झापा–१ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारबाही समेत गर्नका लागि शनिबार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । तर, आयोगलाई मिडियाको कन्टेट हटाउने र पत्र काट्ने अधिकार नभएको भन्दै उक्त निर्णय विवादमा परेको थियो ।

काउन्सिलले भने चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारवाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकाशन गर्नुको कारण मागेको हो । ‘निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकरात्मक प्रभाव पार्ने किसिमको सामग्री के कसरी सम्प्रेषण हुन गएको हो ?’ काउन्सिलले पठाएको पत्रमा उल्लेख छ ।

सेतोपाटीले केही दिनअघि खरेलको छोरा अमेरिकी आर्मीमा जागिर रहेको र त्यहीँको नागरिकता रहेको सन्दर्भ राख्दै समाचार प्रकाशन गरेको थियो । नातेदार वा नजिकका आफन्तको नाम असान्दर्भिक रुपमा जोडेर समाचार लेख्न नहुने भन्ने आचारसंहिताको प्रावधान उल्लेख गर्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो ।

काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट व्यापक विरोध भएपछि आयोग पछि हटिसकेको छ । यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ ।

सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आफै गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले ब्यापक विरोध गरेका थिए । उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारवाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिनाअघि पत्राचार समेत गरेको थियो । त्यसविपरीत आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो ।

‘निर्वाचन आयोगले अनावश्यक काममा हात हालेर मिडिया जगतलाई चिढ्याउने काम मात्र गर्यो । आयोगभित्र मिडिया बुझ्ने धेरै विज्ञहरु रहेछन्, जसले विवादास्पद काम मात्र गरे । निर्वाचनका बेला मिडिया जगतलाई चलाउने र वातावरण खल्बल्याउने काम मात्र गरे,’ प्रेस काउन्सिलका एक सदस्यले व्यंग्य गर्दै भने ।