
काठमाडौं, २० कात्तिक । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायत तीन वटा राजनीतिक दलले आसन्न निर्वाचन वहिष्कार गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले निर्वाचनको विरोधमा संयुक्त कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचन खारेजी÷बहिष्कारको निर्णय गर्दै उनीहरूले आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान पनि गरेका छन् । उनीहरूले निर्वाचनको विरोधमा कात्तिक २४ देखि ३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिवास, पोखरा, सुर्खेत र धनगढीमा राजनीतिक सभा गर्ने जनाएका छन् भने कार्तिक २६ देखि ३० गतेसम्म देशका बिभिन्न स्थानमा कोणसभा र विरोध प्रदर्शन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए ।
उनले अहिलको व्यवस्थाको बिरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूको संघर्ष भएको बताए । त्यस्तै नेकपाका प्रवक्ता प्रकाण्डले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरि कटौटी हुने गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरूको आन्दोलन भएको बताए ।
मुलुकमा भ्रष्टाचार व्याप्त हुँदै गएको, सामाजिक असुरक्षा हुँदै गएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले चूनाव बहिष्कार र आन्दोलनमार्फत सत्ताविरुद्ध निरन्तर जनक्रान्तिको बाटोमा देशलाई अघि बढाएर जनताको राज्य सत्ता निर्माणमा लाग्ने धारणा व्यक्त गरे ।















प्रतिक्रिया