२ कार्तिक २०८३, सोमबार

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्– पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिदैनौँ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने बताएका छन् ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज आइतबार झापाको बिर्तामोडमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा उनले आयोग बलियो तयारीका साथ अगाडि बढिरहेको बताएका हुन् ।

थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नआउने पनि बताएका छन् । उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्व वा व्यक्तिलाई नियमसंगत कारबाही गरिने चेतावनी दिएका छन् ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासोे आउने वातावरण सृजना नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उनको भनाइ थियो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र निर्वाचन खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र निर्वाचन गराइने बताउँदै सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागि परेको जानकारी दिए ।

निर्वाचनको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने वातावरणका साथ यो निर्वाचनलाई सम्पन्न गराउन आयोग अघि बढेको उनले स्पष्ट पारेका छन् ।