२ कार्तिक २०८३, सोमबार

दोलखामा पोखरेल र गुरुङको एकस्वर : राज्यशक्तिको दुरुपयोगबाट चुनाव जित्ने सपना नदेखे हुन्छ

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १९ कात्तिक । नेकपा एमालेका पोलिटव्युरो सदस्यद्वय आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङले दोलखामा राज्यशक्तिको दुरुपयोग गरेर चुनाव जित्छु भन्ने सपना नदेख्न पाँचदलीय गठबन्धनलाई चेतावनी दिएका छन् ।

पार्टीको प्रचार अभियान सुरू गर्न सदरमुकाम चरिकोटमा शुक्रबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनीहरूले गठबन्धन दल राज्यशक्तिको दुरुपयोग गरी बुथ कब्जा गरेर चुनाव जित्ने मनोविज्ञानमा रहेको बताउँदै एमालेले त्यस्तो हुन नदिने बताएका हुन् ।

एमालेले निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्ने बताउँदै उनीहरूले दोलखामा गठबन्धनमा शक्तिको प्रयोग केही–केही हुन थालेकाले उनीहरूको निगरानी गर्ने जानकारी दिएका छन् ।

‘जनताको मताधिकारको दुरुपयोग हुन नदिन सबै राजनीतिक दलले प्रतिबद्धता गर्नु जरुरी छ,’ पूर्वमन्त्री तथा पोलिट्ब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले भने, ‘यो निर्वाचन धाँदलीरहित बनाउन सुरक्षा निकाय र स्थानीय प्रशासनले निष्पक्ष भूमिका खेली मतदान गर्ने वातावरण तयार गर्नुपर्छ ।’

तर, अहिले त्यस्तो अवस्था नदेखिएको सङ्केत गर्दै उनले जिम्मेवार निकाय र व्यक्तिहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिएका छन् । निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न एमाले प्रतिबद्ध रहेको उनको भनाइ छ ।

एमाले समाजका सबै वर्गको हित र समृद्धि चाहने पार्टी भएको बताउनुहुँदै पोखरेलले एमाले किसान र मजदुरलगायत सबैको सहारा समेत भएको बताएका छन् । उनले एमालेलाई बहुमत पुर्याउन दोलखाबाट प्रतिनिधि र सङ्घमा एमालेकै उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

यस्तै पोलिटव्युरो सदस्य पार्वत गुरुङले गठबन्धन राज्यको नियम र विधि उल्लंघन गर्ने पार्टी भएको बताए । उनले आजदेखि नेकपा एमाले विधिवत ढङ्गबाट प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गगरेका छन् । ‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ । म तपाइँहरूलाई भन्न चाहान्छु– अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछु,’ उनले भने, ‘यति हुँदाहुँदै पनि बलजफ्ती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता अपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन म खुला चुनौती दिन चाहान्छु ।’

‘दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको छ, तर उहाँहरूको त्यो सपना पूरा हुन एमालेले दिनेछैन,’ गुरुङले भने, ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ ।’

उनले मङ्सिर ४ गते हुने मतदानमा ढुक्कसाथ सहभागी हुन मतदाताहरूलाई आग्रह गरे । विपक्षी पार्टीले प्रतिनिधि सभा सदस्य बालकृष्ण शिवाकोटीमाथि लगाएको सम्पूर्ण आरोप नियतवश लगाएकाले त्यसमा कुनै सत्यता नभएको पनि उनले स्पष्ट पारेका छन् ।

एमाले दोलखाबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा (क) बाट नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) बाट भरतबहादुर केसी उम्मेदवार छन् ।