
काठमाडौं, १९ कात्तिक । काठमाडौँ महानगरपालिका वडा नं. १६ का ‘भाइरल’ वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरीवाना गरेको छ ।
वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिताविपरीत काठमाडौं जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयम् संलग्न भएको पुष्टि भएपछि जरीवाना गरिएको आयोगले जनाएको छ ।
रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेका थिए । उनको काम निर्वाचन आचारसंहिताविपरीत रहेको आयोगको ठहर छ ।
आयोगले उनलाई निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क)को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टि भएपछि निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरीवाना गरेको हो ।
स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले मेयरमा जित हासिल गरेपछि बसेको काठमाडौं महानगरपालिकाको पहिलो ‘लाइभ’ बैठकमा मेयर साहलाई प्रश्न गरेर चर्चामा आएका रिजाल पछिल्लो समय ‘भाइरल’ अध्यक्षका रुपमा चिनिन्छिन् ।
नेपाली कांग्रेबाट वडाध्यक्ष निर्वाचित रिजालले विधि र प्रक्रिया मिचिएको भन्दै कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतको आलोचना गरे पनि मेयर बालेनको आलोचना गरेको भनी प्रचार हुँदा उनी सामाजिक सञ्जालमा एकाएक ‘भाइरल’ बनेका थिए ।















प्रतिक्रिया