
भक्तपुर, १९ कात्तिक । भक्तपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका ५१ ज्ना युवा नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
चुनावी प्रचार–प्रसार तथा घरदैलो अभियानका क्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य कृष्ण अर्यालको नेतृत्वमा उनीहरू कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी युवाहरूलाई एमाले उम्मेदवार महेश बस्नेत र एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजालगायत नेताहरूले खादा, टीका र माला लगाएर पार्टीमा स्वागत गरे ।
देश विकास र राष्ट्रियताको सवालमा एमालेले खेलेको भूमिका कै कारण एमाले रोजेको नवप्रवेशीले बताएका छन् । आगामी दिनमा भक्तपुरका लागि मात्र नभई समग्र मुलुकको विकासको नेतृत्व एमालेबाहेक अरुले गर्न नसक्ने उल्लेख गर्दै नवप्रवेशीले एमालेका उम्मेदवारलाई विजयी गराउन जस्तोसुकै परिस्थितिको सामना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नवप्रवेशीले उम्मेदवारसहित आफ्नो टोल परिक्रमा गर्दै अब मध्यपुर थिमी नगरपालिका–३ लाई कांग्रेसमुक्त वडा बनाउने अठोट समेत उनीहरूले व्यक्त गरेका छन् ।
उम्मेदवार बस्नेतले नवप्रवेशीलाई धन्यवाद तथा आगामी राजनीतिक सफल भविष्यका शुभकामना व्यक्त गर्दै योग्यता र क्षमताको आधारमा पार्टीले नवप्रवेशीलाई उचित जिम्मेवारी दिने बताए । एमाले नेपाल र नेपालीको पार्टी भएकाले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधीनताको पक्षमा जहिले पनि अटल र अडिग रहेको तथ्यहरू उल्लेख गरे ।
राष्ट्रको हितविपरीत रहेको नागरिकता विधेयक, एमसीसी, एसपीपीलगायत सम्झौताहरू गठबन्धन सरकारले अगाडि बढाएकामा आक्रोश व्यक्त गर्दै नेता बस्नेतले अब मुलुक बचाउने जिम्मा एमालेको काँधमा रहेको बताए । त्यसका लागि जनताको साथ र समर्थन आवश्यकता रहेको उनको भनाइ छ ।
उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल समेत गरेका छन् ।















प्रतिक्रिया